ऋण २ « Himal Post | Online News Revolution
Logo

ऋण २



–दीपक घिमिरे

रने साहुले भरे साँझ घरमै आएर कुरा गरम्ला भनेसी पेमा खुसीले गदगद भई ।

उसले सोची ‘रने साहुका बुद्धि फिरेछ ! उनले भैँसी फिर्ता अवश्य दिन्चन् ।’

खुसी हुँदै घरमा आई, छोरी टिपेर भित्र गई । हिजैदेखि केही खाएकी थिइन, तर पनि उसलाई भोक थिएन । ऊ छोरीलाई दूध खुवाउन पिँढीमा बसी अनि पन्द्र मिनेट दूध चुसाई ।

काम केही थिएन, तर मन आत्तिएको थियो उसको । कहिले घरभित्र जान्थी त कहिले घर बाहिर आउँथी ।

कहिले तल पखेरुमा हेर्थी, रने साहु आए कि भनेर अनि कहिले माथि सालघारी चियाउँथी । ऊ वेचैन जस्तै थिई ।

उसलाई राम्रोसँग हिसाब आउँदैन । पोहोर साल लिएको दस हजार ब्याजे हिसाबले कति रुपियाँ तिर्ने बनायो उसलाई थाहा छैन । रने साहुले जति भन्छन्, उतिमै ऊ खुसी हुन्छे, किनकि रने साहुको मुख्य आम्दानी भनेकै ब्याजे लगानी हो । रने साहु एक रुपियाँ तलमाथि गरेर मान्नेवाला साहु होइन ।

बेचैनीका बिच पनि ऊ दराज नजिक गई, ग्वाँतेको फोटो निकाली । बिहेको साल पर खरबारीमा खिचेको उनीहरूको हँसिलो फोटो थियो ।

एल्बमबाट त्यो फोटो निकाली अनि बिचबाटै च्याती । ग्वाँतेको फोटोलाई थुक्दै भनी ‘साले असत्ती नामर्द ! मेरा आँसुले सराप्छन् तँलाई ।’

पहिलो पटक उसले यसरी रिस देखाई ।

उसले दराजबाट अरू धेरै फोटा निकाली, धेरैबेर सोचेर बसी अनि फेरि उस्तै गरेर दराजमा राखी र छोरी टिपेर घर बाहिर आई ।

दलिनमा झुण्डिएको रेडियोले तीन बजेको खबर पढ्न थाल्यो । उसले फेरि एक–पटक पखेरुतिर आँखा डुलाई, कतै रने साहु भैंसी फिर्ता दिन आउँदैछन् कि भनेर ।

तर अँह ! धेरै परसम्म पनि रने साहु देखिएन ।

हिजोदेखि पेटमा अन्नको एक गेडोसम्म नहालेकी पेमा अहिले पनि उत्तिकै स्फूर्त थिई, कारण आज उसले रने साहुको घरबाट भैंसी फिर्ता पाउने आशा गरेकी थिई ।

घरमा कुरा गरम्ला भनेर फकाएर पठाएको रने साहुको मन पगाल्न पेमाले अनेक जुक्ति सोच्दै थिई ।

मनका पीडा सबै रने साहुलाई भनेर उसको मन जित्ने कुरामा ऊ ढुक्क थिई । ऊ रने साहुलाई स्वागत गर्न आतुर थिई ।

रेडियोमा प्रत्यक घण्टाको समाचार बज्दै जाँदा दिन पनि ढल्किँदै गयो । ऊ अझ धेरै वेचैन हुँदै गई, रने साहु झुल्केनन् ।

भोको पेटले गर्दा पेमाका दूध आउन छाडेर होला, छोरीले पनि दुई मिनेट दूध चुसेर रुन थाल्ने भइसकी ।

घरभित्र पकाउनका लागि अन्नको एक गेडो थिएन । ऊ कहिलेभित्र र कहिले बाहिर गर्दै आत्तिरही । छोरी आँगनमा भएको गुन्द्रीमा बसेर रोइरही ।

रेडियोले साँझ ६ बजेको खबर बुलेटिन भट्याउन थालेपछि पखेरुतिरबाट रने साहु लम्किँदै आएको उसले पिँढीबाटै देखी ।

दगुर्दै गएर हातले डोर्याउँदै, बिन्ती चढाउँदै रने साहुको पाऊ पर्ने हिम्मत पेमामा थियो, तर उसले त्यसो गरिन, किनकि गाउँ समाजले भोलि यही अर्थलाई अनर्थ लगाउन सक्थ्यो । ऊ माथि डिलमा बसेर रने साहुलाई कुरी ।

उकालो बाटोमा हस्याङ–फस्याङ गर्दै रने साहु पेमाको घरसम्म उक्लियो । पेमाले बाहिर आँगनमा एउटा गुन्द्री बिच्छाइदिई ।

रने साहुले आँगनको गुन्द्री उठाउँदै पिँढीमा राखेर भने ‘माझै आँगनमा पनि के बस्नु र पेमा ! पिँढीमा बसेपछि टोलछिमेकले पनि देख्दैनन्, अनि भोलि कसैले कुरा पनि काट्दैनन् । कि कसो हो र ?’

रने साहुको कुरामा सहमति जनाउँदै पेमाले मुण्टो मात्र हल्लाई अनि खुरुरु खरायोको तालमा घरभित्र पसेर एक आम्खोरा पानी लिएर बाहिर आई ।

‘उकालो चढेर आउँदा मालिक सापलाई थकाई लागे जस्तो छ । लौ लिनुस पानी, मुख भिजाउनुस् । उकालो चढ्दा मुख सुक्याहोला ।’ पेमाले आम्खोराको पानी रनेसाहुतिर तेछ्र्यासाई ।

पानी दिँदा हल्का झुकेकी पेमालाई हेर्दै रने साहुले भने ‘यति ख्याल गर्ने ऋणीहरू भएसी हाम्लाई त ऋणै नतिरे हुन्थ्यो भन्ने पो लाग्छ, आऊ यतै बस ।’

रने साहुले आम्खोराको पानी लिँदै गर्दा पेमाका हात मुसार्ने सौभाग्य पाए । उनले पेमाका वक्षस्थलमा अलि धेरै बेरसम्म नजर लगाए । पेमाले अप्ठेरो मान्दै भनी– ‘हजुरसँग बस्ने हैसियतै छैन मालिक साप । म यतै बस्छु ।’

पेमालाई तान्दै रने साहुले भने ‘हत्तेरी ! अब मैले बस भनेसी भैगो नि । बस न बस, कुरो पनि त गर्नुछ ।’

पेमा भित्र गएर पुरानो धोतीको टालो लिएर आई । अनि टाउकोदेखि छातीसम्म ढाक्दै रने साहुको नजिकै बसी ।

‘लैनो भैंसी हो साप ! दूध बेचेर गुजारा चल्छ, चुलोमा आगो बल्छ । एक सिजन पर्खनुस, यै भैंसी बेचेर हजुरको ऋण चुक्ता गर्छु । समय दिनुस् अनि भैसी फिर्ता दिनुस् ।’ पेमाले रने साहुको नजरमा नजर मिलाएरै दुःख पोखी ।

रने साहु पेमाको कुरामा भन्दा पेमाको जवानीमा लठ्ठिएको थियो । एक वर्ष अघि सुत्केरी भएकी पेमालाई ऊ जवानीले मस्त तरुनी ठान्दै थियो । ऊ चुप थियो, एकोहोरो पेमालाई हेर्दै थियो ।

पेमाले फेरि हात जोड्दै भनी– ‘म तपाईँको एक–एक ऋण ब्याजसहित चुक्ता गर्छु, जे भन्नुहुन्छ त्यही मान्छु । क्रिपा गरेर ! भैंसी फिर्ता दिनुस् म एक वर्षभित्रमा सप्पै चुक्ता गर्छु ।’

उसले हात जोड्दै गर्दा छाती ढाकेको टालो भुइँमा खस्यो । बाहिर लगभग अँध्यारो भइसकेको थियो । यही मौका छोपेर रने साहुले पेमाका वक्षस्थलमा हात पु¥याउँदै भन्यो ‘भित्र हिँड ।’

रने साहुका हात झटकार्दै पेमा जुरुक्क उठी । छाती ढाक्ने टालो मिलाउँदै भनी ‘के गरेको ?’

रने साहु पनि बसेकै स्थानबाट उठ्यो अनि पेमालाई अँगालोमा बेर्दै भन्यो ‘भित्र हिँड ! बिहानै भैंसी लैजालिस् ।’

पेमा रने साहुको अँगालोबाट फुस्किँदै भनी ‘किरा पर्ला तपाईँलाई ! एउटा पीडामा भएकी आइमाईलाई गलत नजर लगाउने ।’

रने साहुले पेमाको कठालोमा समात्दै भन्यो ‘मैले भनेको मानिस भने भैंसी पाउछेस्, हैन भने पैला ऋणतिर अनि लैजा भैंसी । खुबै अघिसम्म जे भने पनि मान्छु भन्दै थिइस् त ।’

पेमा रुन थाली, रने साहुले पेमालाई सम्झाउँदै भन्यो ‘त कुमारी केटी त हैनेस नि ! मसँग सम्बन्ध बनाउँदै जा । तँलाई सधैँ खुसी राख्ने छु, ढुक्क भएर बस ।’

पेमाले थुक्दै भनी ‘बरु ऊ त्यो भिरबाट हाम फालेर मर्छु तर यो जुनीमा गलत काम गरेर पेट पाल्दैन । ऋण असुली भन्दै भैंसी लग्यौ, भगवानले एक दिन हेर्नेछ, मलाई ।’

पेमाको कुरा सुनेर रने साहु आगो जस्तै दन्कियो । उसले पेमाको जगल्टा उचाल्दै भन्यो– ‘चाहे भने तेरो विजेत गर्नसक्छु । तर गर्दैन, एक दिन अवश्य मलाई बोलाउँछेस् यही घरमा, सँगै सुत्न ।’

उसले पेमालाई चोर औँलाले निक्कै बेर खबरदारी गर्‍यो । आलु जत्रा आँखा बनाउँदै धेरैबेर घुर्यो अनि कपडा मिलाउँदै ओरालो झर्यो ।

रने साहु गएपछि पेमा धेरै बेर रोई । घरभित्र बसेकी छोरी पनि आमा रोएको सुनेर रुन थाली । गाउँमा निस्पट्ट अँध्यारो छाएको थियो, सबैका घरमा उज्यालो बत्ती बलेका थिए, तर पेमाको घर मात्र होइन मन पनि अँध्यारो भएको थियो ।

एक छिन दुवै आमा छोरी भित्र–बाहिर भएर रोइसकेपछि पेमाले दियो जलाई । घर उज्यालो भयो, तर मन अझै उज्यालो भएन । उसले भगवानको फोटामा आँसु चुहाउँदै भनी ‘साँझ–बिहान छाक टार्न मैले आफ्नो शरीर बेच्नुपर्ने हो भगवान्’ जाबो दस हजार ऋणको लागि म कसैको रखैल बन्नुपर्ने हो भगवान् !’

भित्तामा चेप्टेर बसेका भगवानले न पेमाका कुरा सुन्न सक्थे, न त केही भन्न सक्थे । ऊ धेरै बेर बर्बराई अनि आँसु पुछेर छोरीलाई फेरि दूध चुसाउन थाली ।

 

यो कथाको भाग एक यहाँ हेर्नुहोला :-

ऋण !