काङ्ग्रेस: साढे तीन वर्ष सम्म रित्तो, न विभाग न पदाधिकारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काङ्ग्रेस: साढे तीन वर्ष सम्म रित्तो, न विभाग न पदाधिकारी



काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् ।कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन् । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १ सय ८२ विभाग रहने व्यवस्था छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समिति बैठक सकिएपछि लगत्तै रिक्त विभाग गठन हुने जनाए ।

‘केन्द्रीय समिति बैठक चल्दै छ, बैठकपछि केन्द्रका सबै रिक्त विभाग गठन गर्ने तयारी छ,’ उपसभापति निधिले । उपसभापति निधिले प्रदेशका विभाग भने केन्द्रको गठन भएपछि मात्रै गठन हुने जानकारी दिए ।

प्रदेश तहमा विभाग गठन गर्न भने कांग्रेसको प्रदेशमा संरचना नै बनेको छैन । कांग्रेसले भर्खर मात्रै विधानले व्यवस्था गरेअनुसारको तल्लो तहको संरचना गठन गर्न तयारी अघि बढाएको छ । तर, अझै पनि प्रदेशको संरचना बनाउने विषयमा पार्टीभित्र सहमति जुट्न सकेको छैन ।
विधानअनुसार केन्द्रीय विभागमा प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ भने केन्द्रीय कार्यसमितिका सदस्य विभागको प्रमुख रहनेछन् । यस्तै, केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

विभागका उपप्रमुख, सचिव र सदस्यमा मनोनयन हुन नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुपर्नेछ भने मनोनयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिइनुपर्ने उल्लेख छ ।कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकपछि संविधानले तय गरेको संरचनाअनुसारको पार्टीको संरचना बनाउन विधान संशोधन गरेको थियो । त्यस बखत नै पार्टीको केन्द्रीय विभाग गठन गर्न विधानले नरोके पनि प्रदेश समिति, प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति, पालिका समिति तथा वडा कार्यसमिति गठन गर्न भने विधानले रोकेको थियो ।

हाल कांग्रेसको नेपाल विद्यार्थी संघ नेतृत्वविहीन अवस्थामा छ । यस्तै, तरुण दलको केन्द्रीय कार्यसमितिसमेत अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षकै भरमा चल्दै आएको छ । तरुण दलको महाधिवेशन २०७३ कात्तिकमा सम्पन्न भएको थियो । यसैगरी, दलित संघ, किसान संघलगायतका संगठन पनि वर्षौंदेखि निष्क्रिय छन् भने शुभेच्छुक संगठनहरूले पनि वर्षौंदेखि महाधिवेशन नै नगरी आलटाल गर्दै आएका छन् ।

कांग्रेसले गत वैशाखमा चलाएको पहिलो चरणको जनजागरण अभियानलगत्तै रिक्त सबै विभाग तथा भ्रातृ संगठनको गठन गर्ने तयारी गरेको थियो । संरचना नै नभएका कारण अभियान फितलो भएको भन्दै जिल्ला पुगेका प्रतिनिधिले नेतृत्वलाई संरचना गठनका लागि दबाब दिएका थिए । यस्तै, पहिलो चरणको जनजागरण अभियानका क्रममा तल्लो तहका नेता कार्यकर्ताबाट समेत संरचना गठन नै नगरी अभियान थालेको भन्दै नेतृत्वको चर्को आलोचना भएको थियो ।

हाल कांग्रेसले दोस्रो चरणको जागरणको तयारी गरेको छ । २४ भदौबाट ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण हुँदै छ । कांग्रेसले १०५औं बीपी जयन्तीको अवसर पारेर जागरण गर्न लागेको हो । जागरणअन्तर्गत प्रत्येक प्रदेशमा १०५ वटा बिरुवा रोप्ने कांग्रेसको तयारी छ ।