के रोनाल्डोले कतार छाड्ने धम्की दिएका हुन् ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के रोनाल्डोले कतार छाड्ने धम्की दिएका हुन् ?



फिफा विश्वकप २०२२ अन्तर्गत नकआउट चरणमा स्वीट्जरल्याण्डविरुद्धको खेलमा बेन्चमै थन्किएपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कतार छाडेर हिँड्न खोजेको समाचार बाहिरिएको छ।

स्विटजरल्याण्डविरूद्ध सुरुवाती ११ खेलाडीमा नपरेपछि तनावमा आएका उनले कतारस्थित विश्वकपस्थल छाडेर पोर्चुगल फर्किन खोजेको बताइएको छ।

सुरुवातमै नखेलाउने प्रशिक्षक फर्नान्डो सान्तोसको निर्णय अहिले अनेक कोणबाट विवादमा परेको छ।

तर सान्तोसको निर्णयलाई सही सावित गर्दै रोनाल्डोलाई बेन्चमा राख्दै अवसर पाएका गोन्सालो रामोसले ह्याट्रिक गरेका थिए। जारी विश्वकपमा त्यो पहिलो ह्याट्रिक थियो।

रोनाल्डोले विश्वकप छाडेर हिँड्न खोजेको समाचार भाइरल भइरहेपछि पोर्चुगिज फुटबल एसोसियशनले पनि मुख खोल्न बाध्य भएको छ।

स्विट्जरल्याण्डविरूद्धको खेलअघि प्रशिक्षक सान्तोसले रोनाल्डोलाई सुरुवाती प्लेइङ ११ मा नराखेको खबर दिएका थिए।

त्यसबेला रोनाल्डोले तत्कालै असन्तुष्टि जनाएको पोर्चुगिज पत्रिका रेकर्डले उल्लेख गरेको छ। ‘त्यसबेला रोनाल्डो र सान्तोस नजिकै सिटमा थिए। उनले आफूलाई प्लेइङ सेटमा नराख्ने प्रशिक्षकको निर्णयमा असन्तुष्टि जनाएका थिए’, पत्रिकाले भनेको छ, ‘उनले प्लेइङ ११ मा नराख्ने हो भने कतार छोडेर जाने धम्की दिएका थिए।’

तर पीएफएले प्रशिक्षक फर्नान्डो सान्तोसको भनाइसमेत उद्धधृत गर्दै रोनाल्डोले टीम छाडेर कतारबाट हिँड्ने भनेर धम्की दिएको पोर्चुगिज पत्रिकाहरुकै समाचारको खण्डन गरेको छ।

‘समाचाहरुमा दाबी गरे जस्तो क्रिस्टियानो रोनाल्डोले प्रशिक्षक फर्नान्डो सान्तोससँगको कुराकानीमा विश्वकपमा सहभागी राष्ट्रिय टीम छाडेर हिँड्न खोजेको कुरा गल हो’, पीएफएले बिहीबार भनेको छ, ‘सान्तोससँगको संवादमा क्वार्टरफाइनलको तयारीबारे कुरा भएको हो। तर राष्ट्रिय टोली छाडेर हिँड्ने धम्की रोनाल्डोले दिएका छैनन्।’

स्वीट्जरल्याण्डविरुद्ध रोनाल्डो बेन्चमा थन्किएपछि शानदार ह्याट्रिक गर्दै रामोसले आफू र प्रशिक्षकको निर्णयलाई पनि सही साबित गरे।

केही समययता ३७ वर्षीय रोनाल्डोको शानमा चोट लाग्दै आएको छ। यसअघि म्यानचेस्टर युनाइटेडसँगको करिअर झगडाका कारण सकियो।

अहिले अनपेक्षित रुपमा पोर्चुगिज टोलीले उनलाई सुरुवाती ११ मा बेन्चमा राखेको थियो। रोनाल्डोसँगको पछिल्लो ३१ खेल र २००८ युरोअघिको टोलीको समीकरण टुटेको आभाष हुन थालेको छ।

यस्तोमा पोर्चुगिज फुटबल संघले रोनाल्डोको बचाउसमेत गरेको छ। ‘देशको सेवा गर्दै रोनाल्डोले राष्ट्रिय टोलीका लागि हरेक खेलमा अद्वितीय रेकर्ड बनाएका छन्’, पीएफएले भनेको छ, ‘जसको सम्मान गरिनुपर्छ। राष्ट्रिय टोलीप्रति उनको प्रतिबद्धतालाई निर्विवाद प्रमाणित गरिसकेको छ।’

यसअघि उनको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उनलाई अब रोनाल्डोको आवश्यकता नरहेको बताएर सम्झौता रद्द गरिसकेको छ। उनी अहिले क्लबविहीन छन्। सम्भवत: उनी मध्यपूर्वका कुनै क्लबमा जाने सम्भावना छ।