रोनाल्डोले बनाए नयाँ रेकर्ड, उपाधि नजिक युभेन्टस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रोनाल्डोले बनाए नयाँ रेकर्ड, उपाधि नजिक युभेन्टस



काठमाडौं- क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ए, स्पेनिस ला लिगा तथा इंग्लिस प्रिमियर लिगमा कम्तिमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा उपाधि होडमा दबाब दिँदै आएको लाजिओलाई २–१ ले पराजित गर्ने क्रममा रोनाल्डोले दुई गोल गरेर महत्वपूर्ण ५० गोलको आँकडा पार गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल बिहीन भएको युभेन्टसका लागि रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरे । ५१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका रोनाल्डोल ५४ औँ मिनेटमा पाउलो डिबालाको पासमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

लाजिओका लागि ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा चिरो इमोमिलेले एक गोल फर्काएका हुन् । जितसँगै युभेन्टस उपाधि नजिक पुगेको छ । उसको ३४ खेलबाट ८० अंक भएको छ ।

दोस्रो स्थानको इन्टर मिलानको ७२, तेस्रो स्थानको एट्लान्टाको ७१ तथा चौथो स्थानमा पुगेको लाजिओको ६९ अंक रहेको छ । युभेन्टसले अब चार खेलबाट चार अंक मात्रै डोजे पनि लगातार नवौँपटक उपाधि जित्ने छ ।

सिरी ए को यो सिजनमा रोनाल्डोले ३० गोल गरेका छन् । यस्तै चिरोले पनि ३० गोल नै गरेका छन् । रोनाल्डो सन् २००७–०८ को सिजनपछि सिरी ए मा गोल्डेन बुट जित्ने पहिलो युभेन्टस खेलाडी बन्ने प्रयासमा छन् । सो सिजनमा एलेसान्ड्रोले गोल्डेन बुट जितेका थिए ।

रोनाल्डोले गएको सिजन सिरी ए मा २१ तथा यो सिजन ३० गोल गरेसँगै उनको सिरी ए गोल संख्या ५१ पुगेको हो ।

यस्तै उनले ला लिगामा रियल मड्रिडका लागि ३११ तथा प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि ८४ गोल गरेका छन् ।

रोनाल्डो यो शताब्दीमा सबैभन्दा चाडो सिरी ए मा ५० भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले ६१ खेलमा ५१ गोल गरेका हुन् ।