रुखको छहारी लिन पुगेका बाबुरामले किन हँसिया हथौडा बोकेनन् ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रुखको छहारी लिन पुगेका बाबुरामले किन हँसिया हथौडा बोकेनन् ?



काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रका बीच चुनावी तालमेल र पार्टी एकताका लागि सँगै आएका नयाँ शक्ति नेपालका नेता डा.बाबराम भट्टराई अन्ततः रुखको छहारी लिन पुगेका छन् । एउटै कम्युनिस्ट पार्टी बनाएर साम्यवाद ल्याउनुपर्ने बताउने बाबुराम वाम गठबन्धनबाट बाहिरिएपछि धेरै प्रश्न उब्जिएका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्न नपाएपछि वाम समिकरण छोडेका बाबुराम अहिले कांग्रेसको रुखमा ओत लाग्न पुगेका छन् । कांग्रेससँग तालमेल गर्नुअघि उनलाई वाम गठबन्धनबाटै चुनाव लड्न दिनुपर्ने आवाज नउठेको पनि होइन । बाबुरामले गोरखा २ मा लड्न वाम गठबन्धनबाट किन टिकट पाएनन् त ? धेरैको चासोको यसबारेमा माओवादी केन्द्रकै एक नेता (नाम गोप्य राखिएको छ) ले केही तथ्य खोलेका छन् ।

कुनै बेला बाबुरामनिकट मानिने ती नेताले बाबुरामले वाम गठबन्धन छाड्नुमा उनकै कम्जोरी रहेको रहस्य खोले । ‘एमालेसँगको तालमेलमा गोरखाका दुवै निर्वाचन क्षेत्र माओवादीको भागमा परेका छ, उहाँले सूर्य चिन्ह लिएर लड्ने भन्नुभयो, हामीले हँसिया हथौडा लिनु भन्यौं’, ती नेताले जनता समाचारसँग भनेका छन्, ‘उहाँले हँसिया हथौडा चुनाव चिन्ह लिएर लड्न मान्नु भएन, बरु रुख लिएर लड्न तयार हुनुभयो ।’

बाबुराम नेपालका बैद्धिक नेता भए पनि उनको बैद्धिकताले पछिल्लो समय ठीक ढंगले काम नगरेको उनको आरोप छ । ‘कहिले भारतको पछि लागेको छ, कहिले आफूभन्दा निकै जुनियर नेताको पछि लागेको छ, कहिले सूर्य र आँखा भन्दै रुखमा पुगेको छ’, उनले भने, ‘मओवादीको भागमा परेका स्थानमा चुनाव लड्न आएपछि निर्वाचन चिन्ह अर्को खोज्नु भनेको निहुँ खोज्ने बाहेक अरु कुरै हुन सक्दैन ।’

जनताको मतबाट जितेको सांसद पद छाडेर गएका बाबुरामलाई हँसिया हथौडा भन्दा रुखको मोह देख्दा दया लागेको माओवादीका ती नेता बताउँछन् । ‘हरेक मान्छेले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ, उहाँलाई पार्टीले धेरै अवसर दिएको हो’, उनले भने, ‘अध्यक्ष प्रचण्डले भन्थे, ‘म पछि पार्टी चलाउने बाबुराम कमरेड नै हो, तर उनले आफ्नै पालामा संविधानसभा भंग गरे, संवैधानिक समितिको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सकेनन्, मधेस आन्दोलनका समयमा विवादास्पद कुरा बोल्दै हिँडे । यी सबै कुराको जनताले मुल्याङ्कन गर्नेछन् ।’

जनयुद्ध र शान्तिप्रक्रियापछि पनि बाबुरामसँग नजिक भएर लामो समय काम गरेका ती नेता उनको व्यवहार दुःखी भएको बताउँछन् । ‘अब बाबुरामबाट जनताले आश नगरे हुन्छ,’, उनले भने, ‘मैले पहिले नै आश मारेर छाडेको थिएँ ।’