गाडेको अवस्थामा बालिकाको शव फेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गाडेको अवस्थामा बालिकाको शव फेला



बैतडी । बैतडीमा ८ वर्षीया बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । गएको असार १८ गतेदेखि वेपत्ता रहेकी ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको हो ।

जिल्लाको दोगडाकेदार- २ ढिकगाड घर भई दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा बुबासँगै बस्दै आएकी बालिकाको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

कलावती अध्ययनरत ईश्वर आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा रहेको खोल्सामा कलावतीको शव भेटिएको उनले बताए । बाख्रा चराउने बेला स्थानीय महिलाले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाले खबर गरेपछि आफुहरु घटनास्थलमा पुगेको र त्याहा बालिकाको शवको केही अस्थीपञ्जर मात्रै भेटिएको प्रवक्ता पातलीले बताए ।

उनले कसैले हत्या गरेको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने बारे अहिले नै केहि भन्न नसकिने बताए । घटनाको अनुसन्धान गरिरहेका प्रहरीले शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा कठिनाई भैरहेको बताएका छन् ।