सलमान खान काठमाडौं आउने तय, सांगितिक कार्यक्रममा सहभागिता जनाउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सलमान खान काठमाडौं आउने तय, सांगितिक कार्यक्रममा सहभागिता जनाउने



कोरोनाले सुस्ताएको नेपालको पर्यटन बजार चलायमान बनाउन आगामी वैशाख ३ गते बलिउडका चर्चित नायक सलमान खानसहित भारतीय कलाकारको टोली काठमाडौं आउने भएको छ ।

स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन् ।

१० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको हो । ती कलाकारलाई सम्झौताअनुसार, भुक्तानी गर्नुपर्ने कुल रकममध्ये ४ करोड पारिश्रमिक पठाउन ओडीसीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिएको मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई बताए ।

नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये सर्वाधिक भारतीय आउने भएकाले यो कार्यक्रमले नेपालको पर्यटन बजारलाई उकास्न मद्दत पुग्ने जनाउँदै कुनै पनि आर्थिक दायित्व नपर्ने गरी मन्त्रालयले सचिवस्तरीय निर्णयबाट यो कार्यक्रमलाई सघाउन मातहतका निकायलाई निर्देशन गरेको छ ।

यसअघि २०७४ साल फागुनमा पनि उनी आउने तय भएको थियो । उनका भाइ सोहेल खान काठमाडौं आई पत्रकार सम्मेलन गरी सलमान बस्ने होटल, कार्यक्रमस्थल, सुरक्षाको अवस्थाबारे जानकारी लिई फर्किसकेका थिए । त्यसबेला अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्दको पार्टीले धम्क्याएपछि आयोजकले कार्यक्रम तत्काललाई स्थगन गरेको थियो ।

त्यसै बेलाको सम्झौताअनुसार, यसपटक सलमान खान नेपाल आउने पक्कापक्की भएको हो । एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो । सलमान खानको कार्यक्रम गर्ने स‌ंस्थाले त्यसबेला आयोजकबाट लिएको बैना रकम फिर्ता नगरी कार्यक्रम नै गर्ने सम्झौता गरेकाले यो कार्यक्रम आउने वैशाखमा रंगशालामा हुने भएको हो ।