संविधान संशोधन देश र जनताको हितमा छैन : अध्यक्ष केसी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

संविधान संशोधन देश र जनताको हितमा छैन : अध्यक्ष केसी



 हिमाल पोष्ट / काठमाडौँ, ११ मङ्सिर ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले मुलुकमा संविधान संशोधन देश र जनताको हितमा नरहेकाले त्यस प्रक्रियामा जान नहुने बताउनुभएको छ ।

पार्टीको काठमाडौँ जिल्ला समितिले आज प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभामा अध्यक्ष केसीले संविधान संशोधन कार्यले संविधानको कार्यान्वयनको प्रक्रियालाई जटिल बनाउने बताउनुभयो ।

विभिन्न जाति तथा समुदायले भरिएको नेपालजस्तो मुलुकमा सङ्घीयता कायम गर्न नहुने भनेर आफ्नो पार्टीले विसं २०६५ मा तत्कालीन संसद्मा सुझाएको बताउँदै उहाँले भन्नुभयो – “संविधानअनुसार प्रदेशको समर्थनबिना सीमाङ्कन हुन सक्दैन, राष्ट्रिय सभामा समावेशी प्रतिनिधित्वको व्यवस्था छ, त्यसैगरी भाषा र नागरिकताको विषयमा संविधान लचिलो छ ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले मुलुकमा वैदेशिक हस्तक्षेप बढेका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता सङ्कटमा रहेको विचार व्यक्त गर्दै संविधान संशोधनले देश टुक्रिन सक्ने खतरा औँल्याउनुभयो ।

देशमा सबै नेपालीको एकतालाई कायम गराउन हिमाल, पहाड र तराईलाई एक अर्काबाट छुट्टयाउन नहुने उहाँको भनाइ थियो ।

पार्टीको काठमाडौँ जिल्ला समितिका अध्यक्ष लालबहादुर थापाले संविधान संशोधनविरुद्ध देशभर अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । रासस