साना किसान कृषि सहकारीको ९ औं वार्षिक साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

साना किसान कृषि सहकारीको ९ औं वार्षिक साधारण सभा सम्पन्न



विशाल पाण्डेय / सुखड,कैलाली ।

घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा आज सुखडमा सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष इन्द्रा देवी विकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिति सुदुर पश्चिम प्रदेश सभा सदस्य अमर साउद रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि साउदले दुई तिहाई सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने महत्त्वपूर्ण नारालाई साकार पार्नको लागि सहकारीले पनि महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले करिब १२ हजार भन्दा बढी रहेको सहकारीबाट करिब ३ खर्ब भन्दा बढीको कारोबारसंगै लाखौं मानिसहरूले रोजगार पाइरहेको बताए । सहकारीको विकासका लागि सरकारले महत्त्वपूर्ण नितिहरु ल्याएको बताउदै सांसद साउदले करिब ५० लाख बराबरको लगानिमा सुखडमा हाट बजार संचालनको तयारी गरिरहेको हुँदा सम्पुर्ण कृषकहरुले कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय लघु उद्यमि महासंघ प्रादेशिक अध्यक्ष गणेश बिष्टले सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताएका छन् । उनले महिलाहरुको सहभागीतामा रहेको सहकारीमा नगरपालिकाले चासो नदेखाएको भन्दै दुख समेत व्यक्त गरेका थिए । सहकारी समुहमा रहेका गरिब ,दलित ,पिछडिएका लगाएतका महिलाहरुको लागि व्यवसायिक बनाउन स्थानीय तथा प्रदेश सरकारको ठूलो भुमिका हुने भन्दै व्यवसायका लागि आवश्यक रकम उपलब्ध गराउन ध्यानाकर्षण समेत गराएका थिए ।

उक्त अवसरमा संस्थाका लेखा समिति संयोजक नारायणी मैनालीले वार्षिक नीति ,कार्यक्रम ,बजेट तथा आर्थिक वर्ष २०७५/०७६ को ८१ लाख करोड ७९ हजार रुपैयाँ बराबरको आय व्यय विवरण सभामा प्रस्तुत गरेकी थिइन् ।हाल १५१२ जना शेयर सदस्य महिलाहरु रहेका उक्त संस्थाको आम्दानी १९ लाख ९५ हजार रहेको छ । कार्यक्रमको संचालन सहकारीका सल्लाहकार समितिका सदस्य पर्शुराम सापकोटाले गरेका थिए ।