सञ्चारको विकसित रूप र यसको प्रभाव « Himal Post | Online News Revolution
Logo

सञ्चारको विकसित रूप र यसको प्रभाव



जिएन पाण्डे

कुनै जमाना यस्तो थियो देश तथा विदेशमा घटेका घटनाको जानकारीको त कुरै छोडौँ आफ्नै परिवारमा घटेको घट्नाको जानकारी पनि घर भन्दा बाहिर भएको सदस्यले कयौँ दिन पछि मात्रै थाहा पाउँथ्यो । परिवारबाट टाढा भएको सदस्यको सन्चो बिसन्चो थाहा पाउने एकमात्र उपाय हुन्थ्यो चिठी पत्र आदानप्रदान । देश तथा विदेशमा घटेका घट्नाको जानकारी पाउन राष्ट्रिय पत्रिकामा समाचार छापिएपछि वा रेडियो नेपालबाट मात्रै थाहा पाएन्थो ,अझ राजधानी बाहिरका जिल्लामा त त्यहीँ पत्रिका पनि दुई चार दिन पछि मात्रै पुग्थ्यो ,घट्नाले अर्कै मोड लिईसकेको हुन्थ्यो तर गाउँ गाउँमा बासी समाचार पुग्थ्यो ।

बिस्तारै सञ्चारले गति लिँदै गयो ,गाउँ गाउँमा टेलिफोन हुँदै व्यक्ति व्यक्तिमा मोबाइल तथा इन्टरनेट पुग्यो अझ अहिले त जमाना सामाजिक सञ्जालको भएको छ ,अहिले विगतको त्यो समय सम्झिदा एकादेशको कथा जस्तै लाग्दछ । सूचना प्रविधिले विश्वलाई मानिसको हत्केलामा अट्ने गरी खुम्च्याएको छ । डेढ दशक अघिसम्म कल्पना गर्न पनि नसकिने धेरै कुरा सूचना प्रविधिको विकासले अहिले सम्भव भएका छन् ।

हिजोआज सामाजिक सञ्जाल प्रयोग नगर्ने मानिस भेटिन मुस्किल छ । फेसबुक, ट्विटर, हृवाट्सएप, इन्स्टाग्राम लगायतका विभिन्न खालका सामाजिक सञ्जालको प्रयोगकर्ता दिनदिनै बढिरहेका छन् । आजकल मनिसहरू चिठी पठाउन, फोन गर्न, इमेल गर्नभन्दा सामाजिक संजालमार्फत् सूचना र सन्चो बिसन्चो आदानप्रदान गर्न सजिलो र भरपर्दो मान्छन् । सञ्जालमा नजोडिएका नयाँ पुस्ता भेट्न गाह्रै पर्छ। धेरैजसो आमाबुवा र हजुरआमा हजुरबा समेत कुनै न कुनै तरिकाले सामाजिक सञ्जालमा जोडिनु भएकोछ । विदेशमा रहेका छोराछोरी नातिनातिनाको फोटो र भिडिओ हेर्न उनीहरूसँग प्रत्यक्ष कुरा गर्नका लागि मात्रै भए पनि धेरैजसो आमाबुबा सामाजिक सञ्जालमा जोडिनु भएकै छ। राजनीतिज्ञ, पत्रकार, इन्जिनियर, डाक्टर , वकिल , विद्यार्थी, र अन्य धेरै विधाका युवा, वयस्क, नरनारी सबैलाई एकैठाँउमा ल्याएको छ सामाजिक सञ्जालले । यी भिन्न विधाका व्यक्तिहरू एकै ठाउँमा भिन्न भिन्न किसिमले प्रस्तुत हुँदा रमाइलो मात्रै होइन सूचना आदान प्रदान र ज्ञानमूलक जानकारी पनि उत्तिकै प्रवाह भइरहेका छन् । सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई सामाजिक गतिविधिसँग जोडिनेदेखि फुर्सदिला मानिसका लागि समय बिताउने सामाजिक सञ्जाल अब हाम्रो जीवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ।

सामाजिक सञ्जालको इतिहास त्यति पुरानो छैन । सन् १९९७ मा सिक्स डिग्री डट कमबाट यसको सुरु भएको हो । त्यस यताको दुई दशकको छोटो यात्रामा सामाजिक सञ्जालले ठुलो फड्को मारेको छ । अहिले संसारका ३ अर्व मानिस अथवा विश्वको पूरा जनसङ्ख्याको ४० प्रतिशत मानिस सामाजिक सञ्जाल प्रयोग गर्छन् । नेपालजस्तो थोरै जनसङ्ख्या भएको र कम विकसित देशमै सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडको हाराहारीमा छन् जसमध्ये ७२ लाख भन्दा बढी १६ देखि ४० वर्ष समूहका व्यक्ति छन् र यो क्रम निरन्तर बढ्दो छ । यहाँ फेसबुक,ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता सञ्जाल बढी लोकप्रिय छन् ।

समाजका सबै व्यवसाय र वर्गका मानिसले सामाजिक सञ्जाल प्रयोग गर्दछन् । आम नागरिकको लागि अभिव्यक्तिको सबैभन्दा सजिलो माध्यम यिनै सामाजिक सञ्जाल बनेका छन् । कसैका आफन्त बिरामी वा दुर्घटनामा परेर तुरुन्त रगत आवश्यक पर्‍यो भने सामाजिक सञ्जाल सजिलो माध्यम बनेको छ सहयोग माग्नको लागि र निकै उपयोगी र धेरैले सहयोग प्राप्त गरिरहेको पाइन्छ। सूचना पोस्ट गरेको केही समयमै हजारौँ प्रयोगकर्तासम्म प्रवाह हुनेहुनाले निकै प्रभावशाली बनेको छ यो सञ्जाल । राजनीतिक पार्टीहरूले आफ्ना विचार र कार्यक्रमको जानकारी अचेल सामाजिक संजालमार्फत् नै प्रवाह गरिरहेका छन् ।

आजको यो एक्काइसौँ शताब्दी सूचना र प्रविधिको शताब्दी हो यस अर्थमा हो कि सूचना प्रविधिको अभावमा आज हामी जे देखिरहेका छौँ यो सम्भव हुने थिएन। कुनै समय सूचना एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन परेवाको सहारा लिइन्थ्यो भने आज कुनै पनि सूचना केही सेकेन्डमै संसारभर पुग्छ यो सब अत्याधुनिक प्रविधिकै कारण सम्भव भएको हो । आधुनिक प्रविधिका आविष्कार फेसबुक,टुईटर जस्ता सामाजिक सञ्जालका कारण आज हामी एउटा कोठामा बसेर संसार नियाल्न सक्ने भएका छौँ । अझ यसो भनौँ आधुनिक प्रविधिले संसारलाई एउटा कोठामा साँघुऱ्याईदिएको छ । प्रविधिकै कारण हामी जुन कुनामा भए पनि संसारभर रहेका लाखौँ मानिसहरूसँग सम्पर्कमा रहन सक्छौँ, आफ्ना बिचार, भावनाहरू साटासाट गर्न सक्छौँ, न्यायको पक्षमा गोलबद्ध भएर विभिन्न खालका अभियान सञ्चालन गर्न सक्छौँ ।

अर्कोतिर सामाजिक सञ्जाल यति बेला समाचार स्रोतको पनि निक्कै सजिलो र भरपर्दो माध्यम बनेको छ । संसारभर घटेका घटनाहरू प्रत्येक साइटमा पुगेर अपडेटेड हुन सम्भव छैन तर फेसबुक ट्विटरले छिनभर मै सञ्चार हामीसम्म ल्याई पुर्याउँछ्न । पत्रपत्रिका, अनलाइन समाचार पोर्टल सबैले सामाजिक सञ्जालमार्फत नै आफ्ना सूचना प्रवाह गरिरहेका छन् र मिनेटभरमै लाखौँ पाठकबिचमा पुग्ने यो भरपर्दो माध्यम बनेको छ ।अहिले सूचनाको महाशक्ति सामाजिक सञ्जालहरू, सञ्चार माध्यमको एउटा आधुनिक धारका रूपमा स्थापित भएका छन् र यो निक्कै उपयोगी र सस्तो बनेको छ। प्राय: संचारगृहमा आबद्ध संचारकर्मीहरूले कुनै सूचना आफ्नो मिडियाबाट सार्वजनिक गर्नु पूर्व नै फेसबुकमा पोस्ट ,ट्विटरमा ट्विट गरी भ्याउनुले पनि यसको पुष्टि गर्दछ ।

अहिलेको युगमा सामाजिक सञ्जाल निकै नै शक्तिशाली बनेको छ, यसले ठूलाठूला कुराहरूमा पनि दबाब सिर्जना गर्ने गरेको सुन्न पाइन्छ। कतिपय अतिनै महत्त्वका समाचारमा समेत सामान्य व्यक्तिले पोस्ट गर्ने स्टाटस र ट्विटलाई आधार मानेर समाचारको स्रोत पहिचान गरी प्रकाशमा ल्याइएका उदाहरणहरू प्रशस्त छन् । त्यस कारण सूचनाको महाशक्तिका रुममा सामाजिक सञ्जाललाई लिन सकिन्छ । सूचना आदान प्रदानको इतिहास हेर्ने हो भने अहिले कल्पना बाहिरको विकास भएको छ सूचना प्रविधिमा । चमत्कारिकनै भएको छ । हरेक व्यक्ति सूचना प्रविधिको प्रयोग मार्फत एक क्लिकमा विश्वका गतिविधि थाहा पाइरहेका छन् । यो सूचना पाउने व्यक्तिको पहिलो आधार भनेको हाल आएर सामाजिक सञ्जाल भएका छन् । साक्षर व्यक्तिको दैनिक जीवनको एक कर्मका रूपमा सामाजिक सञ्जालले ठाउँ जमाएकाछन् । सामाजिक सञ्जालको सही प्रयोगबाट विश्वमा ठुला ठुला अभियानहरू सम्पन्न भएका छन् । कतै सामाजिक सञ्जालकै लोकप्रियताका कारण महत्त्वपूर्ण पदमा चुनाव जित्न सरल भएको छ ।

सामाजिक सञ्जाललाई विकास सँग जोडेर पनि अभियानहरू भएका छन् । जुन अभियान सकारात्मक छन् । नेपाली समाजमा त झन् सामाजिक विकासमा फेसबुक मार्फत चलाएका अभियानले गाउँको मुहार नै फेरेका उदाहरणहरू समेत हामी माझ छन् । कुनै अभियानलाई सफल पार्न, सम्बन्धलाई दिगो बनाउन, नयाँ परिवेश बारेमा जानकारी पाउन तथा व्यक्तिको अवस्थाको बारेमा समेत जानकारी गराउनमा सामाजिक सञ्जालले महत्वपूर्णभूमिका निर्वाह गरेका छन् । यस्ता थुप्रै सकारात्मक कामहरू गर्ने मौका यसले प्रदान गरेको छ ।

सामाजिक सञ्जालको बहु आयामिक उपयोगिता रहेको भएता पनि यिनले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम पनि उत्तिकै छ । सामाजिक सञ्जालको प्रयोग गर्न नजान्दा जति फाइदा छन् त्यतिकै बेफाइदा पनि छन् । सामाजिक सञ्जालहरूको दुरुपयोगले यो हाम्रो लागि वरदान भन्दा पनि अभिशाप सिद्ध हुने हो कि भन्ने खतरा पनि पैदा भई राखेको छ । जसरी तीव्र गतिमा सकारात्मक सूचनाहरू संसारभर पुग्छन् त्यसरी नै नकारात्मक सूचनाहरू पनि संसारभर पुगिरहेका छन् । समाजलाई जोड्नु पर्ने सामाजिक सञ्जालले उल्टै कतै तोड्दै त छैन ? सामाजिक सञ्जालका कारण मानिस असामाजिक बन्दै गएका सङ्केत प्रशस्तै देखिन्छ । एकातिर सामाजिक सञ्जाल मार्फत आपराधिक गतिविधि बढेको तथ्याङ्क बढ्दो छ । केही मान्छेहरूले समाज,राष्ट्र र विश्वमै नकारात्मक प्रभाव पार्ने खालका गतिविधिहरू सामाजिक सञ्जालमा नियोजित रूपमा सेयर गरेर आपसी सदभाब भड्काउने काम गरिरहेका छन् । विभिन्न खालका राजनीतिक,धार्मिक,साम्प्रदायिक मुद्दाहरू उचालेर विश्वलाई कुरूप पार्ने प्रयास पनि भइरहेका छन् । फेक एकाउन्टहरू बनाएर मान्छेहरूलाई सताउने, दुःख दिने,ब्लयाकमेलिङ गर्ने तथा अरूका एकाउन्टहरू ह्याक गरेर व्यक्तिगत सूचनाहरू लिने जस्ता थुप्रै नकारात्मक कार्यहरू पनि गरिरहेका छन् । सामाजिक सञ्जालकै दुरुपयोगका कारण थुप्रै आत्महत्या, हत्याका घटनाहरू सुन्न र पढ्न पाइन्छ । भने अर्कोतिर एउटै खाटमा सुतेका श्रीमान् र श्रीमती पनि एकापसमा ढाड फर्काएर नरुनै कोहीसँग च्याट गर्दै मुस्कुराइरहेका हुन्छन् भन्ने गम्भीर आरोप लाग्ने गरेको छ । सूचना, प्रविधि र सोसल नेटवर्कले मान्छेलाई दासी बनाएको छ । जसको प्रयोगबाट मानिसहरू अल्छी एवं परनिर्भर समेत भएका छन् । सामाजिक सञ्जालले कुनै अति नै सूक्ष्म कुरालाई समेत व्यापक बनाइ यदि मिडियाले त्यस कुरालाई ठाउँ दिएनन् भने पाठक, दर्शक या श्रोताले नै मिडियालाई अपूर्ण ठान्ने परिपाटीको विकास भएको छ ।

हामीले दैनिक जीवनको एक पाटोको रूपमा सामाजिक सञ्जालको प्रयोग गरिरहँदा आफ्ना अरू महत्त्वपूर्ण कामहरू बिर्सिएका, समयको सदुपयोग गर्न नसकिएको लगायतका थुप्रै बेफाइदा छन् । कतिपयले मानवीय संवेदनासँग जोडिएका तस्बिरलाई समेत सरल रूपमा पोस्ट गर्नु यो व्यक्तिगत मनोविज्ञानको कुरा हो । यसको गलत प्रयोगले समयको बर्बादी, सामाजिक,आर्थिक तथा राजनीतिक विकृति पनि उत्तिकै निम्त्याउँछ । यसले निकै भयावह स्थितिको संकेत गर्छ । यी बेफाइदा ती सामाजिक सञ्जालले निम्त्याएका होइनन् हामी आफैले निम्त्याएका हुन् ।

हामीले वर्तमान परिस्थितिसँग अगाडि बढ्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ तर सीमित मात्रामा समय छुट्ट्याउने, अपरिचित व्यक्तिहरूको अनुरोध स्वीकार नगर्ने, आफूले लेखिएका कुराहरू संयमतापूर्वक र अनुशासित ढङ्गले अरूलाई चोट नपुर्‍याउने तरिकाले सम्प्रेषण गर्ने गरेमा अवश्य पनि नकारात्मक भन्दा सकारात्मक प्रभाव बढी पर्छ । त्यस कारण सूचना प्रविधिमा भएको विकासको भरपुर प्रयोग गरौँ ।