सन्दीपको बलिङ बरियता खस्कियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्दीपको बलिङ बरियता खस्कियो



काठमाडौं- लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन्।

नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहेका छन्। उनले कूल ३ सय ८९ रेटिङ अङ्क पाएका छन। यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ औँ स्थानमा थिए। हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एण्ड टोबागोमा रहेका छन्। उनले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त गरेका थिए।

यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। दुवै जना हाल सीपीएल खेलिरहेका छन्। सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेलेका थिए। यस्तै आइसीसीको बलिङ बरियतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा रहेका छन्।

यसैगरी आईसीसीले जारी गरेको ब्याटिङ बरियतामा नेपालका पूर्व कप्तान पारस खड्का ७०औँ स्थानमा छन्। उनको ४०० रेटिङ अङक छ। इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ बरियताको शीर्ष स्थानमा छन्। पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा छन्।

यस्तै टी २० बरियतामा नेपाल १५औँ स्थानमा यथावत छ। यसअघि नेपाल विश्व बलिङ बरियतामा ११औँ स्थानसम्म पुगिसकेको छ। शीर्ष बरियतामा भने अस्ट्रेलिया छ। बरियतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्। रासस