सन्दीपको टीमको फितलो खेल: सेमिफाइनलमा लज्जास्पद हार « Himal Post | Online News Revolution
Logo

सन्दीपको टीमको फितलो खेल: सेमिफाइनलमा लज्जास्पद हार



एजेन्सी – ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै अपराजित ट्रीनबागोले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

जमैकाले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्य ट्रीनबेगोले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ट्रीनबेगोको जितमा लेन्डल सिमन्स र टिओन वेब्स्टरले उत्कृष्ट ब्याटिङ गरे । सिमन्सले अर्धशतकीय इनिङ खेल्दै टोलीलाई जिततर्फ डोर्याएका थिए । उनले ४४ बलमा ६ चौका र २ छक्कासहित नटआउट ५४ रन जोडे ।

ओपनर सुनिल नारायण दोस्रो ओभरमा मुजिब उर रहमानको बलमा मात्र ४ रनमा बोल्ड भएका थिए । तर त्यसपछि लेन्डल सिमन्स र टिओन वेब्स्टरले दोस्रो विकेटका लागि बलियो साझेदारी गरे । यी दुईले नटआउट रनको साझेदारी गरेका थिए । वेब्स्टर ४३ बलमा ४४ रन जोड्दै नटआउट रहे । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

नेपाली स्पिनर सन्दीप लामिछाने प्रतियोगितामा पहिलो पटक विकेटविहिन रहँदा ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । मुजिबले ३ ओभरमा १८ रन खर्चेर १ विकेट हात पारे ।

त्यसअघि टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ७ रन जोड्न सक्यो । टोलीका लागि एन्क्रुमा बोनरले ४२ तथा कप्तान रोभमान पावेलले ३३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा जमैकाले जेनतेन १ सय रनको आँकडा पार गर्यो ।

इनिङको पहिलो ओभरमा नै अकिल हुसेनले जर्मेन ब्लाकवुडलाई आउट गर्दै विकेट मेडन राखे । दोस्रो ओभरको दोस्रो बलमा नै ग्लेन फिलिप्स २ रन जोड्दै खरे पिएरको बलमा क्याच आउट भए । तेस्रो ओभरमा मुजिब उर रहमान खाता नखोली पेभेलियन फर्केपछि जमैका १०-३ को दयनीय स्थितिमा पुगेको थियो ।

जमैकाका लागि एन्क्रुमा बोनरले एकतर्फ इनिङ सम्हाल्दा अर्कोतर्फ विकेट झर्ने सिलिसिला भने रोकिएन । पाँचौ ओभरमा असिफ अली ४ रन जोड्दै होसेनको बलमा पोलार्डको हातबाट समातिए । कप्तान पावेल र बोनरले केहिबेर इनिङ सम्हालेपनि बोनर लामो समय टिक्न सकेनन् ।

१२ औं ओभरमा फवाद आलमको बलमा बोनर बोल्ड भए । उनले ४२ बलमा ५ चौकासहित ४१ रन जोडे । लगत्तै क्रिजमा आएका आन्द्रे रसल २ रनमा खेल्दा अम्पायरको खराब निर्णयको शिकार बने । उनको प्याडमा लाग्दै पछाडी गएको बललाई अम्पायरले कट बिहाइन्डको निर्णय दिए । उनी आउट हुँदा टोली ६८-६ को स्थितिमा थियो ।

कप्तान पावेल ३५ बलमा ३३ रन जोड्दै पिएरको शिकार बने । १ चौका र १ छक्क प्रहार गरेका उनलाई पोलार्डले क्याच आउट गरेका थिए । कार्लोस ब्रेथवेट २० बलमा १३ रन जोड्दै नटआउट रहे । विरसामी पर्मौलले नटआउट ३ रन जोडे ।

ट्रीनबेगोका लागि होसेनले ३ विकेट तथा पिएरले २ विकेट लिए । सुनिल नारायण र फवाद अहमदको नाममा पनि १-१ विकेट रहयो ।