सानेपा घटना: फेसबुकबाट डाटा मागियो, कार्की परिवारमाथि थप अनुसन्धान - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सानेपा घटना: फेसबुकबाट डाटा मागियो, कार्की परिवारमाथि थप अनुसन्धान



काठमाडौं- पूर्वसचिव अर्जुन कार्की पत्नीको ह’त्याकाण्डमा प्रहरीले विजय चौधरीको मानसिक अवस्था ठिक नभएको निर्णय नजिक पुगेको छ ।

मुना कार्कीको ह’त्या र विजय चौधरीको आत्मह’त्या घटनामा अनुसन्धान गरिरहेको प्रहरीले घटना अगाडी विजयले सीसीटीभी क्यामरामा हेरेर असामान्य गतिबिधि गरेको फेरा पारेको छ ।

विजयले नै मुनाको ह’त्या गरी आफूले आत्मह’त्या गरेको प्रहरीको दाबी छ। यद्यपि यो अपराधमा विजयको मनसाय के थियो भन्ने चाहिँ प्रहरीले खुलाउन सकेको छैन।

प्रहरीले सीसीटीभी फुटेजको अध्ययनबाट विजयले घटनाको दिन असामान्य गतिविधि देखाएको जनाएको छ।

त्यो दिन बिहानैदेखि विजयको व्यवहार फरक देखिएको घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर जावालाखेलप्रहरीले बताएको छ ।

प्रहरीका अनुसार विजय चौधरी घटना घट्दाको दिन बिहान झण्डै २ मिनेट घरबाहिर आएर सीसीटीभीतिरै फर्किएर एकोहोरो टोलाएको भेट्टाएको छ ।

प्रहरीले घटना हुनुभन्दा अघिका १२ घण्टाका दृश्य हेरेको बताइएको छ । मुना कार्कीको ह’त्या गर्नुअघि सो घरमा के कस्ता गतिविधि भएका थिए भन्ने बारेमा प्रहरीले फुटेज हेरेको बताएको छ । १२ घण्टाको सबै गतिविधि नियाल्दा विजय बेचैन जस्तो देखिएको प्रहरीको दाबी छ ।

घटना घटाउनुपर्ने अन्य कारण फेला नपरेको अवस्थामा यही दृश्य पनि महत्वपूर्ण ‘क्लु’ बन्न सक्छ कि भनेर प्रहरीले अध्ययन गरिरहेको छ। घटनाको रहस्य खोज्न आफूहरुले नयाँ ढंगले अध्ययन गरिरहेको प्रहरी बताउँछ।

घटना घटेको ८ दिन बितिसकेको छ। तर, ह’त्याको चित्तबुझ्दो कारण पेस गर्न प्रहरीले सकेको छैन।

प्रहरीले विजयले प्रयोग गरेको मोबाइलमा रहेका सबै सामग्री अध्ययन गर्न फरेन्सिक ल्याब पठाएको छ। जसको रिपोर्ट सोमबारसम्म आउन सक्ने बताइएको छ ।

त्यसबाहेक प्रहरीले नेपाल टेलिकम र एनसेलसँग पनि उनीहरुले प्रयोग गरेको सिममा भएका गतिविधिबारेको जानकारी माग गरेको छ।

विजय चौधरीले फेसबुक पनि चलाउने गरेका छन्। सामाजिक सञ्जालमा उनको गतिविधि पनि प्रहरीले अध्ययन गरिरहेको छ।

फेसबुकमा रहेका सबै कन्टेन्ट हेर्न फेसबुकलाई इमेल पठाइएको र त्यहाँबाट यथार्थ विवरण मगाउने कोशिस भइरहेको प्रहरी बताउँछ ।

कार्की परिवारमा घरेलु कामदारका रुपमा कार्यरत विजयलाई कहीँ कतैबाट धम्की आएनआएको बारे पनि प्रहरीले अध्ययन गरिरहेको छ।