संघियता देशका लागि घातक छ: उपेन्द्र यादव - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

संघियता देशका लागि घातक छ: उपेन्द्र यादव



जनकपुर- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघियता देशकालागि घातक भएको बताएका छन् ।

उनले प्रहरी, कर्मचारी र आफ्नो आम्दानी नहुने अहिलेको प्रदेश सरकारजस्तो संघीयताको अर्थ नभएको बताएका छन् ।

पार्टीले शुक्रबारबाट सुरु गरेको संगठन बिस्तार र सुदृढिकरण अभियानको जनकपुरमा उदघाटन गर्दै यादवले प्रदेशमा केन्द्रले नै शासन गरेको र आफू अनुकुल चलाइरहेको आरोप लगाए ।

‘आफ्नो प्रहरी र कर्मचारी नि नहुने। एक पैसाको आम्दानीसमेत नहुने सरकार हुन्छ?,’ यादवले भने, ‘यस्तो प्रदेश सरकारको कुनै अर्थ हुन्न।’ नेपालमा सुदृढ संघीयता चाहिएको यादवको भनाइ छ।

नाम मात्रको संघीयताले परतन्त्रता नहटाउने यादवले बताए। ‘स्वायत्त शासन र परतन्त्रता अन्त्य गर्ने खालको प्रदेश हुनुपर्छ,’ यादवले भने, ‘प्रदेश सरकारसँग आफूले गरेको निर्णय कार्यान्वयनका लागि साधन–स्रोत र जनशक्ति हुनुपर्छ।’

नेपालमा प्रदेश स्थापना गर्दा संघीयताको कुनै आधार लागु नगरिएको आरोप यादवले लगाए। ‘नेपाल प्रदेशहरु केन्द्रले नै शासन गर्ने खालका भए,’ यादवले भने, ‘आफूले जित्ने र शासन गर्ने इच्छाअनुसार नै प्रदेशको सिमाकंन गरिदा यस्तो अवस्था आयो।’

यादवले इथोपिया र भारतको संघीयताको उदाहरण दिदै ती देशहरुमा संघ र प्रदेशको छुट्टै झन्डा र संविधान रहेको बताए। ‘इथोपियामा दुई ओटा झन्डा र दुई ओटा संविधान छ। देश र प्रदेशको आ–आफ्नै झन्डा र आ–आफ्नै संविधान,’ उनले भने, ‘भारतमा जातीय, भाषिक र भूगोलको आधारमा प्रदेश छ। नेपालमा संघीयताको कुनै आधार नै टेकिएन्। संविधान लेख्ने लेखनदासले आफूखुसी गरे।’

कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयतालाई कमजोर र समाप्त पार्ने खेल भइरहेको बताए। उनले मधेस आन्दोलनले अहिलेजस्तो संघीयता नचाहेको बताए।

मधेस आन्दोलनको मर्म अनुरुपको संघीयता निर्माण गर्न संविधान संशोधन आवश्यक रहेको राउतले बताए। ‘आन्दोलनले यस्तो संघीयता मागेको थिएन।

प्रदेशको सिमाकंनमै हाम्रो असन्तुष्टि छ,’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारलाई विकास युनिटजस्तो राख्ने संघको चाहना देखियो। संघीयता रहेपनि सिंहदरवारबाटै चलाउने व्यवहार देखिन्छ।’

समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका राउतले अधिकारसम्पन्न संघीयता मागेपनि केन्द्र शासित व्यवहार मात्र देखाइएको आरोप लगाए।