सर्वेन्द्र खनाल तनहुँमा पनि बिजोग- एमालेकै मतदाताले पत्याएनन् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सर्वेन्द्र खनाल तनहुँमा पनि बिजोग- एमालेकै मतदाताले पत्याएनन्



आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा मतगणना भैरहँदा नेकपा एमालेको मत भने नगन्य देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सबैभन्दा धेरै मत ल्याइरहेका छन् भने नेपाली कांग्रेसआ गोविन्द भट्टराई धेरै पछाडी छन् ।

त्यो भन्दा रोचक त के छ भने एमालेका उम्मेदवारलाई मतदाताले अत्यन्तै कम मत दिएका छन्। अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो भने वाग्लेले यसअघि केहि कांग्रेस र धेरै एमालेलाई मत दिएका मतदाताको मत आफूतिर तानेको देखिन्छ।

समाचार तयार पार्दासम्म १३ वडाको १८ हजार ६ सय ६१ मत गणना गर्दा वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत र एमालेका सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत ल्याएका छन्।

मतगणना भएका वडाहरुको मतलाई र गत स्थानीय तहमा वडा अध्यक्षहरूले ल्याएको मतलाई आधार मान्ने हो भने एमालेको धेरै भोट वाग्लेलाई गएको छ। एमालेले काठमाडौंमा पराजित भएका सर्वेन्द्र खनाललाई जित्नसक्ने उम्मेदवारका रूपमा तनहुँ पठाएको थियो । तर नतिजाले भने एमालेले पठाएका उम्मेदवारलाई मतदाताले पत्याएका छैनन् ।

एक वर्ष अघि आँबुखैरेनी-१ मा एमालेले ३ सय ५१ मत ल्याएको थियो। तर अहिलेको निर्वाचनमा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५४ मत मात्रै पाएका छन्। जबकी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ सय ६५ मत ल्याएका छन्। स्थानीय तहको निर्वाचनमा यो वडामा कांग्रेसले ४ सय १५ मत ल्याएको थियो। रास्वपाका वाग्लेले १ हजार ६५ मत ल्याएका छन्।

एमालेले वडा अध्यक्ष जितेको आँबुखैरेनी-६ मा एमाले उम्मेदवार खनालले १ सय ३० मत पाएका छन्। जबकी एक वर्षअघि एमालेका वडा अध्यक्ष उम्मेदवारले ३ सय ९० मत ल्याएका थिए।

भानु-३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले ७ सय १६, कांग्रेसका भट्टराईले ४ सय १८ र एमालेका खनालले ३ सय ५१ मत पाएका छन्।

यो वडामा एमालेले स्थानीय तहमा ६ सय ९ भोट पाएको थियो भने कांग्रेसले ९ सय ८ मत पाएको थियो। वडा तहको आधारमा मात्र होइन मंसिरमा सम्पन्न निर्वाचनलाई आधार मान्ने हो भने पनि वाग्लेले एमालेकै भोट धेरै काटिएको छ।

मंसिरको निर्वाचनमा एमालेले झन्डै २० हजार ल्याएको थियो। त्यतिबेला एमाले उम्मेदवार एकबहादुर रानाले सदर मतको झन्डै ३२ प्रतिशत मत पाएका थिए भने अहिले खनालले १५ प्रतिशत मत मात्र पाइरहेका छन्।

यसलाई आधार मान्नेहो भने सर्वेन्द्र खनाललाई मतदाताले नरुचाएको प्रष्ट देखिन्छ । एमालेमा उम्मेदवार चयनलाई लिएर असन्तुष्टि बढिरहेका बेला यसलाई पुष्टि गर्नेगरी नतिजा आएको छ ।