सरकार कसरी ढल्नु पर्छ हामीलाई थाहा छ : विप्लव - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सरकार कसरी ढल्नु पर्छ हामीलाई थाहा छ : विप्लव



हिमाल पोस्ट / २१ माघ, काठमाडौं । सरकारले आफ्नो पार्टीविरुद्ध दमनकारी नीति लिएको विप्लव माओवादीले आरोप लगाएको छ ।

आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव राखेको भन्दै विप्लवले प्रतिरोधमा उत्रिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिलसमेत गरेका छन् ।

 

विप्लवले शुक्रबार बिज्ञप्ति निकालेर सरकारको यो गतिविधि महाधिवेशनमा बाधा पुर्‍याउने खेल भएको बताएका छन् र त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

‘गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार भएको छ । राज्यको यो रवैयाले हाम्रो ध्यान गम्भीर प्रकारले तानेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘राज्यको यस्तो दमनकारी नीतिबाट हाम्रो पार्टी विचलित हुने त कल्पनै छैन बरु सशक्त प्रतिरोधको मार्गमा अगाडि बढ्नेछ ।’

विप्लवले राज्यको दमनकारी र भ्रामक कार्यको देशव्यापी रुपमा भण्डाफोर र प्रतिरोध गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल समेत गरेका छन् ।