सरकार निर्वाचनदेखि डरायो : पूर्वमन्त्री पोखरेल - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सरकार निर्वाचनदेखि डरायो : पूर्वमन्त्री पोखरेल



भक्तपुर, फागुन ५

नेकपा (एमाले)का नेता तथा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले निर्वाचनदेखि डराएर सरकारले निर्वाचनको मिति घोषणा नगरेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनमा जान डराएर निर्वाचनको मिति घोषणा नगरेको बताउनुभयो । नेता पोखरेलले भन्नुभयो–“सरकार संविधान कार्यान्वयनमा भन्दा संविधान संशोधनको अड्को थाप्दै निर्वाचन नगर्न अनेक नाटक मञ्चन गरिरहेको छ, सरकार निर्वाचनमा जानबाट डराइरहेको छ ।”

निर्वाचन नगर्दा दक्षिणपन्थी अतिवादी शक्तिलाई प्रश्रय मिल्ने, संविधान कार्यान्वयन हुन नदिने र मुलुकलाई असफल राष्ट्र बनाउने खेलमा सरकार लागेको उहाँले आरोप लगाउनुभयो । उहाँले आगामी जेठ १५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने र स्थानीय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर सरकारले निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

तराईलाई विभाजन गर्ने डिजाइनअनुसार ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजिएको र यसले राष्ट्रियतामाथि गम्भीर असर पर्ने भएकाले संविधान संशोधन कुनै पनि हालतमा पारित गर्न नदिने उहाँले बताउनुभयो । रासस