दोस्रो चरणको स्थानीय निर्वाचन आज - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दोस्रो चरणको स्थानीय निर्वाचन आज



काठमाडौँ, असार १४ गते ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै मतदातालाई मतदानमा सहभागी हुन हार्दिक आह्वान गरेको छ ।

आयोगले दोस्रो चरणको ‘स्थानीय तह निर्वाचन’ बारे जानकारी गराउने उद्देश्यले मङ्गलबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सबै मतदातालाई निर्धक्क मतदानमा सरिक हुन अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, “सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी दुःख सहेर भए पनि मतदानमा सरिक भई आफूले रोजेका योग्य उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्छु । ” प्रमुख आयुक्त डा. यादवले सुरक्षाको व्यवस्था राम्रो भएको चर्चा गर्दै थप्नुभयो, “निर्वाचनमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो अमूल्य मत सात जना उम्मेदवारलाई प्रदान गर्न सबै मतदातासँग आयोग आग्रह गर्छ । ”

६२ हजार ४०८ उम्मेदवार

आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा कुल ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्  । यस निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नुभएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्धारण गरिएको आठ हजार ३६४ मतदान केन्द्रमा गई मतदाताले बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरी मतदान गर्न सकिने आयोगले व्यवस्था मिलाएको छ ।

यो स्थानीय तहको निर्वाचन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि हुन लागेको हो । नयाँ संविधान बनेपछि पहिलो पटक भइरहेको यो ऐतिहासिक निर्वाचनले स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जनप्रतिनिधिहरूको चयन गर्नेछ ।

६४ लाख ३२ हजार ७६५ मतदाता

यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्ने छन् । यसका लागि देशभर चार हजार ५८१ मतदान स्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार नौ सय कर्मचारी खटिएका छन् । स्थानीय जनप्रतिनिधि निर्वाचित गर्ने दिन असार १४ लाई महान् पर्वको रूपमा लिई मतदानमा व्यापक सहभागिता जनाउँदै त्यसपछि खेत रोपाइँमा जुट्न आयोगले आम मतदातासँग अपिल गरेको छ ।

अन्य सरकारी परिचयपत्र पनि मान्य

कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका परिचयपत्र हराएमा, नष्ट भएमा, नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको पनि सो अवसरमा जानकारी दिइयो ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिकाबमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था पनि आयोगले मिलाएको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ४८ संस्थाका छ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे छ ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न निर्देशन दिइसकिएको जनाउँदै आयोगले भनेको छ– “दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफै मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्नु हुने छ । ”

कूटनीतिक नियोगलाई अवलोकनको व्यवस्था

दोस्रो चरणको निर्वाचनमा आयोगले नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरूलाई तीन वटा प्रदेशका छ वटा सहर धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेल्धुरामा अवलोकन भ्रमणको समेत व्यवस्था मिलाएको छ ।  आचारसंहिताको पूर्ण पालना गरी मतदातालाई मताधिकारको सुनिश्चित हुने सहज वातावरण निर्माणका लागि  सबैसँग अनुरोध गर्दै आयोगले मौन अवधिमा आफ्ना वेबसाइट तथा फेसबुक एवम् ट्विटरलगायत सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समेत निर्वाचनको प्रचार–प्रसार नगर्न र मौन अवधिको पूर्ण पालना गर्न पनि ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकार, मित्रराष्ट्र, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको निर्वाचनमा हुँदै आएको निन्तर सहयोग र सद्भावप्रति पनि आयोगले धन्यवाद व्यक्त गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यम लगायत सबै क्षेत्रबाट रचनात्मक सहयोग हुने आयोगले विश्वास लिएको छ ।गोरखापत्रबाट