सीमामा चीन र भारतका सैनिकको लगातार भिडन्त « Himal Post | Online News Revolution
Logo

सीमामा चीन र भारतका सैनिकको लगातार भिडन्त



एजेन्सी- भारत र चीनका सैनिकबीच यस महिना तीनपटक झडप भएको छ । यी घटनाबारे भारतीय विदेश मन्त्रालयले बिहीबार बयान जारी गर्दै भारतीय सेनाले आफ्नो सीमामा मात्र गतिविधि गरिरहेका दाबी गरेको छ ।

लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पारी भारतीय सैनिकले गतिविधि गरेको चीनको आरोपलाई खण्डन गर्दै भारतीय विदेश मन्त्रालयले बरु चीनले सो हर्कत गरिरहेको आरोप लगाएको छ ।

चीनले भारतीय सैनिकको नियमित पेट्रोलिङलाई अवरोध गरेको भारतीय विदेश मन्त्रालयको दाबी छ । गत ५ र ९ मे मा भारत र चीनका सैनिकबीच लद्दाखमा झडप भएको थियो भने ९ मेमा नै सिक्किमको नाकु ला सेक्टरमा दुई देशका सैनिक एक आपसमा भिडेका थिए ।

भारत र चीनबीच लद्दाखको गालवन नदी क्षेत्रमा निर्माण कार्यलाई लिएर विवाद बढेको थियो । आफ्नो क्षेत्रमा चीनले सडक बनाएको भारतको दाबी छ । यस विवादलाई सुल्झाउन दुई देशको फिल्ड कमान्डरहरुको बैठक बसेको थियो ।

यो बैठक दौलतको बेग ओल्डी सेक्टरमा भएको थियो । यसमा भारतको ८१ औँ ब्रिगेडका अधिकारी र चिनी समकक्षी सामेल थिए ।

सन् १९६२ मा भएको भारत र चीनबीचको युद्धमा यो गालवन नदी निकै महत्त्वपूर्ण क्षेत्र थियो । यहाँ भारतीय सेनाको पोष्ट थियो जसलाई चिनियाँ सैनिकहरुले घेरेका थिए । त्यसपछि भएको झडपपछि युद्ध सुरु भएको थियो ।

गत हप्ता भारतीय सेना प्रमुख एमएम नरवणेले भनेका थिए, ‘तपाईंहरुलाई हरेक झडपको जानकारी दिइनेछ । यस्तो १० स्थान छन् जहाँ हामी जहिले पनि छलफल गरिरहेका हुन्छौँ । त्यहाँको स्थिति पहिलेको जस्तै छ । एक दुई स्थानमा कहिलेकाहीँ यस्तो घटना हुन्छन् । जब त्यहाँको कमान्डर बदली हुन्छ, यस्तो घटना हुने गर्छ ।

कहाँ कहाँ झडप भयो ?

१) ५ मे, पूर्वी लद्दाख, पैंगोंग ताल

यो दिन तालको उत्तरी किनारको फिंगर–५ क्षेत्रमा भारत र चीनका करिब २ सय सैनिक आमनेसामने भएका थिए । रातभर तनावपछि अर्को दिन झडप भएको थियो । पछि दुई देशका सैनिकबीच छलफल भएपछि यो शान्त भएको थियो ।

२) मे ९, उत्तरी सिकिम्मको नाकू ला सेक्टर

यहाँ दुई देशका १५० सैनिक आमनेसामने भएका थिए । दुई देशका सैनिकबीच मुक्का हानाहान भएको थियो । घटनामा १० सैनिक घाइते भएका थिए ।

३) मे ९, लद्दाख

उता सिक्किममा दुई देशका सैनिक भिडिरहँदा लद्दाखमा दुई देशबीच तनाव भएको थियो ।

चीनको हेलिकप्टर सीमा क्षेत्रमा पुगेको थियो भने भारतको एमके आई फाइटर विमान पनि त्यहाँ पुगेर शक्ति प्रदर्शन गरेका थिए ।