प्रहरी, रासस र प्रेस सेन्टरको नाममा ठगी धन्दा: मुख देखाउन लाज भएपछि हाँस्यास्पद खण्डन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रहरी, रासस र प्रेस सेन्टरको नाममा ठगी धन्दा: मुख देखाउन लाज भएपछि हाँस्यास्पद खण्डन



एउटा सच्चा पत्रकार बस्ने समाज अन्याय र अत्याचारमा कहिलै पर्दैन यदि त्यो पत्रकारले सहि पत्रकारिता गर्छ भने, तर पत्रकारबाटै समाजमा अन्याय र अत्याचार भयो भने के होला ? केहि यस्तै पात्रले गर्दा समाज त अन्याय अत्याचारमा पर्छ नै त्यसमाथि सम्बन्धित पेशा र कर्म नै बदनाम हुन्छ ।

यो प्रसङ्ग हो सर्लाहीको, जहाँका सच्चा पत्रकारीता गर्नेले पनि म पत्रकार हुँ भन्न लाज मान्नुपर्ने अवस्था छ । पत्रकार भन्नेबित्तिकै स्थानीय त्रसित हुन्छन् । एकजना पुराना पत्रकारको गुनासो यस्तो छ । ति पत्रकारलाई सार्वजनिक यातायातमा एक जना यात्रुले तपाईं के गर्नुहुन्छ भन्दै सोधेछन्, उनले पत्रकारीता गर्छु भन्दै जवाफ फर्काएछन्, उनले जवाफ फर्काउँन नपाउँदै प्रश्न सोध्ने यात्रुले सोधे, ‘ए, शंकर पहाडी जस्तै पो हुनुहुँदो रहेछ । आजको कमाई त राम्रै भयो होला नी ? कति भयो ?’ यात्रुले प्रश्न सोधेपछि उनी लाजले भुतुक्कै भएछन् ।

पत्रकार, पत्रकारिता, समाचार भन्नेबित्तिकै नाकै खुम्च्याउने माहोल बनाउन, एउटा पेशा बदनाम गर्न धेरै व्यक्ति चाँहीदैनन्, त्यो पेशा गर्ने एउटा व्यक्ति बदमास भए सबैको इज्जत धुलीसात हुन्छ । सर्लाही आसपासमा पत्रकार र पत्रकारिता पेशा अँगाल्नेको इज्जत धुलिसात पार्ने व्यक्ति हुन् शंकर पहाडी उर्फ (एसपी गौरब)

शंकर पहाडीको घर सिन्धुली हो । पहिले सिन्धुलीमा पत्रकारिताको आडमा उनले असुली धन्दा गर्थे पहाडी, उनले हप्ता उठाउने शैलीमा असुली गर्न थालेपछि ब्यापारी र स्थानीयले उनको विरोध गर्न थाले, साना देखि ठूला व्यापारीलाई पैसा मागेर त्रसित पार्न थालेपछि उनलाई सिन्धुलीबाट बहिस्कार गरियो । पत्रकार महासंघ र अन्य संगठनले पनि उनलाई सदस्यता नदिने निर्णय गरे । पत्रकार र स्थानीयले नै बहिस्कार गरेपछि शंकर सिन्धुलीबाट भागेका थिए ।

त्यसपछि सर्लाही झरेर केहि वर्ष गुमनाम भएका उनलाई माओवादीका नेताहरूले संरक्षण दिन थाले । माओवादी नेताहरूले उनलाई पार्टीको प्रेस संगठन ‘प्रेस सेन्टर’ सर्लाहीको अध्यक्ष बनाए । त्यसपछि माओवादीका नेताहरूकै भनसुनमा सरकारी सञ्चार संस्था राष्ट्रिय समाचार समिति राससमा जिल्ला प्रतिनिधि बने । त्यसपछि फेरि सुरू भयो उनको पुरानै धन्दा । सीमानाकामा चीनी ल्याउनेदेखि क्रसर उद्योग चलाउनेसम्मका व्यक्तिलाई उनले पैसा माग्छन्, कसैलाई यो एकाउन्टमा यति पैसा हाल भन्दै म्यासेज पठाउँछन् ।

उनको यो गैरकानुनी असुली धन्दामा स्थानीय केही जनप्रतिनिधि, केही प्रहरी र नेताहरू समेत सम्लग्न रहेको स्थानीय बताउँछन् । केही दिन अगाडीको मात्रै कुरा हो मलंगवामा भारतबाट २ हजारको सामन ल्याउनेलाई प्रहरीले समात्यो । उनको सामान जफत गर्‍यो । त्यहाँका स्थानीयले प्रहरीलाई प्रश्न गरे किन समातेको बिचरा घरखर्चको सामन ल्याएको होला । प्रहरीले जवाफ दियो ‘पत्रकार शंकरले अबैध भन्दै समात्न लगाएको हो ।’ यो एउटा घटना मात्र हो, उनलाई पैसा नदिएर दुख पाउने कति छन् कति !

सिन्धुलीबाट भागेर सर्लाहीमा लुटको धन्दा गर्ने शंकर अहिले पनि सिन्धुली जान डराउँछन् । तर सर्लाहीमा भने उनले अड्डा जमाएर बसेका छन् । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको आदेश पालकको रूपमा काम गर्ने शंकरको समाचार हामीले प्रकाशन गरेपछि उनको मागी खाने भाँडो चौपट भएको छ ।

०००

सरोकारवाला के भन्छन ?

पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीका अनुसार सर्लाही आसपासमा शंकर पहाडीको असुली धन्दाबाट स्थानीय आजित छन् । कैयौँ व्यक्तिले अध्यक्ष क्षेत्रीसँग गुनासो पनि गर्नेगरेको उनी बताउँछन् । ‘उनीहरूको आतंकको विषयमा धेरैले गुनासो गरेका छन्, यी व्यक्तिको विषयमा मौखिक रूपमा मसँग र महासंघसँग गुनासो गर्ने स्थानिय धेरै छन् ।’ क्षेत्री भन्छन्, ‘कति जनाले त भौतिक कारबाही नै गर्छौँ भन्दा मैले नै धेरै ठाउँमा बचाएको हो, त्यो शंकरेको खुट्टा भाँच्छु भन्दै आएकालाई समेत मैले यस्तो गर्नु हुँदैन, पत्रकारलाई भौतिक आक्रमण गरे म चुप लागेर बस्दिन, बरु कानुनी कारबाहीमा जाउ भनेर धेरैलाई सम्झाउने गरेको छु ।’ उनले भने ।

अध्यक्ष क्षेत्रीका अनुसार जिल्लामा शंकरबाहेक अन्य एक/दुई जना यस्तै धन्दा गर्ने पत्रकार छन् । उनीहरूको बारेमा निकै गुनासो आएपछि महासंघ सर्लाहीले उनीहरूलाई सचेत गराउने देखि कानुनी कारबाहीको लागि सिफारिस गर्ने तयारी गरेको छ ।

महासंघले उनीहरूलाई कारबाही किन नगरेको भन्ने हाम्रो प्रश्नमा क्षेत्रीले हिमालपोस्टमा समाचार आउनु अगाडी नै महासंघले यस्ता प्रवृत्तिका पत्रकारविरुद्ध एक्सन लिइसकेको र विज्ञप्ति निकाल्ने तयारी गरेको बताए । उनले भने, ‘प्रेस सेन्टरको अध्यक्ष भएको व्यक्ति आफै जिम्मेवार हुनुपर्ने हो, तर उसले आफ्नो जिम्मेवारी बिर्सेर यस्ता हर्कत गर्दा पत्रकारकै बेइज्जत भएको छ । अर्को कुरा उनीहरू महासंघका सदस्य होइनन, त्यसैले महासंघले कारबाही गर्न मिल्दैन तर महासंघले उनीहरू र केही पात्रहरूविरुद्ध ब्यापारी र स्थानीयले निकै धेरै गुनासो गरेकाले विज्ञप्ति निकाल्ने र सम्बन्धित निकायलाई कारबाही गर्न आग्रह गर्नेगरी निर्णय गरिसकेको छ ।‘ उनले थपे, ‘यिनीहरूले समग्र पत्रकारिता पेशालाई नै बदनाम गराउने देखिएको छ । शंकरको सवालमा अब उसले यस्ता धन्दामा आफू संलग्न छैन भन्ने प्रमाणसहित प्रष्ट पार्न नसके उसलाई धेरै अफ्ठ्यारो पर्ने मैले देखेको छु । महासंघले भदौ २० गते नै यस्ता गतिविधि गर्नेहरूलाई कारबाही सिफारिस गर्ने निर्णय गरिसकेको छ ।‘

यस विषयमा नेपाल प्रहरी सर्लाहीका एसपी प्रविन पोखरेलसँग बुझ्दा पत्रकार पहाडीविरुद्ध उजुरी नपरेको जानकारी दिए । पोखरेलले पत्रकार मात्र होइन यस्ता गतिविधि जसले गरेपनि अपराध नै भएकाले उजुरी परेको खण्डमा उनीमाथि शक्त कारबाही हुने बताए । ‘जनताको सेवामा खट्ने प्रहरीको नाम नै बदनाम गर्ने कार्य एकदमै निन्दनीय र गलत कार्य हो, यस्तो काम गर्नेलाई कारबाही हुनुपर्छ ।’ उनले भने ।

उनले सकेसम्म सशस्त्र प्रहरीसँग पनि कुरा गर्न सुझाव दिए, हामीसँग कुनै उजुरी आए तत्काल कारबाही अगाडी बढाउँछौँ, तर सशस्त्रको डीआइजी सावको बदनाम गरेको कारणले उहाँसँग पनि कुरा गर्नुहोस’ उनले भने ।

हामीले सशस्त्र प्रहरीका सर्लाही क्षेत्र हेर्ने डीआइजी गणेश ठाडालाई सम्पर्क गर्दा उनी संगठनकै कारणले अहिले बाहिर भएको एसपी रमेश पाण्डेले बताए । पाण्डेले आफूले यस विषयमा बोल्न नमिल्ने भएकाले डीआइजी ठाडा आएपछि कुरा गर्न आग्रह गरे ।

हामीले राससको मधेश प्रदेश हेर्ने राजु विश्वकर्मालाई समेत सम्पर्क गरेका थियौँ । उनले यदि यो सत्य भएको खण्डमा निकै निन्दनीय काम भएको बताउँदै राससको प्रधान कार्यालयसँग बुझ्न आग्रह गरे । उनले आफ्नो काम संयोजन मात्रै गर्ने भएकाले बढी बोल्न नमिल्ने जवाफ दिए । तर रासस केन्द्रीय कार्यालय स्रोतका अनुसार उनीमाथि कारबाहीको तयारी भैरहेको बुझिएको छ ।

०००

कहिले सशस्त्र प्रहरीको ‘डीआईजीको बोडीगार्ड’, कहिले राससको पत्रकार त कहिले प्रेस सेन्टरको अध्यक्ष बताउँदै सर्लाही आसपासका व्यावसायी, शिक्षक, प्रहरीलगायतलाई त्रसित पारी हप्ता उठाउने र आतंक मच्चाउने बदनाम पात्र शंकर पहाडी र ऋतिक अधिकारीका अन्य कर्तुत पनि खुल्दै गएका छन् । उनीहरूले व्यवासायीहरूलाई धम्क्याएर मेरो खातामा यति पैसा राख भन्दै धम्क्याएको समेत गुनासो आएको छ । त्यतिमात्र होइन केही स्थानीय महिलाहरूलाई समेत दुर्व्यवहार गरेको गुनासो आउन थालेको छ ।

कर्तुत खुल्दै गएपछि उनीहरूले काम गर्ने संस्थाहरूले समेत पहाडी र अधिकारीमाथि कारबाही गर्ने अवस्था सिर्जना भएको छ । पत्रकारिता जस्तो पवित्र पेशालाई नै बदनाम गराउनेगरी पहाडी र अधिकारीहरूले चलाएको धन्दाको खुलासा भएपछि उनीहरूको असुली धन्दा चौपट बन्न थालेको छ ।

स्थानीय नेताहरूको संरक्षणमा उनीहरूले गरेका हर्कतबारे हिमालपोस्टले समाचार प्रकाशन गरेपछि बगरको माछा जस्तै छट्पटाएका उनीहरू अहिले स्पष्टिकरण दिँदा दिँदा हैरान छन् ।

मागिखाने भाँडो बन्द, हाँस्यास्पद खण्डन

एकातिर प्रहरी जस्तो संगठनको नामको दुरुपयोग, त्यसमाथि सरकारी समाचार संस्था राससको नाम समेत बदनाम हुनेगरी दुरुपयोग गरेपछि शंकर पहाडीमाथि कारबाही हुने पक्का छ । हिमालपोस्टमा उनीहरूको पेशा नै जोखिममा हुनेगरी समाचार प्रकाशन भएपछि, लाजै पचाएर खण्डनको नाटक गरेका छन् ।

स्थानीयहरूसँग मुख देखाउन लाज हुनेगरी कर्तुत पर्दाफास भएपछि प्रेस संगठनको लेटरप्याडको समेत दुरुपयोग गरी उनले समाचारको खण्डन गरेका छन् ।

१९ बुँदामा भावना र कुण्ठा लेखेर खण्डनको प्रयास गरेका उनलाई हेक्का हुनुपर्छ सबैले उनले जस्तै भावनामा बहकिएर अर्कालाई बदनाम गर्न समाचार लेख्दैनन्, उनले आफैले जस्तै सबैले गर्छन भन्ने जसरी समाचारको प्रमाण नभएको जिकिर गरेका छन् । तर शंकर जस्ता पेशाको बदनाम गरेर खान र लुट्न पल्केकालाई हेक्का हुनुपर्छ बिना प्रमाण समाचार बन्दैन।

खण्डनको एउटा बुँदामा उनले अदालत जाने, प्रेस काउन्सिल जाने, मुद्दा लड्ने भन्दै दिउसै रात पार्न खोजेको आभास हुन्छ । एउटा जिम्मेवार पत्रकारले प्रमाणबिना कसैको मानमर्दन हुने, चरित्र हत्या हुनेगरी समाचार लेख्नु कानुनी अपराध हो । हामी यसमा सचेत छौँ, आफैले हार्ने मुद्दा हालेर जोखिम नबढाउन र थप बेइज्जतिको भागीदार हुने हो भने शंकर जस्ता पात्रहरूलाई रामराम मात्र भन्न सकिन्छ ।

पत्रकार बनेर असुली धन्दा गर्ने शंकरलाई सायद थाहा हुनुपर्ने हो हिमालपोस्टलाई प्राप्त भएका प्रमाण, स्थानीयले गरेका गुनासा र आफूले गरेका कर्तुत र नेताका आडमा संस्था र प्रहरीको नामको दुरुपयोग गर्दा के कारबाही हुन्छ भनेर । एउटा जिम्मेवार व्यक्ति त्यसमाथि पत्रकारले आफूले गरेका गल्तिको क्षमा माग्नुपर्ने बेला उनी लाजै पचाएर अझै ढाकछोप गर्न लागिपरेका छन् ।

खण्डनको अर्को बुँदामा उनले हिमालपोस्ट र हिमालपोस्टलाई कसैले परिचालन गरिरहेको भन्दै लान्छना लगाएका छन् । हुन त व्यक्ति आफू जस्तो छ अरूलाई पनि उस्तै भन्ने ठान्छ । शंकर जस्ता पेशालाई पैसामा बेच्ने, हप्ता उठाउनेहरूले सोच्ने स्तर पनि यत्ति नै हो ।

खण्डनको एउटा बुँदामा शंकरले पत्रकार आचारसंहिता बारे आफू जानकार रहेको बताएका छन्, तर पत्रकार आचारसंहिताबारे जानकार व्यक्तिले ‘प्रहरीको डीआइजीको बोडीगार्ड हुँ’ भन्दै पैसाको बार्गेनिङ गर्दा आफूलाई लाज नलागेको भने उल्लेख गरेका छैनन् । लाजै पचाएर उनले आचारसंहिताबारे जानकार भएको ढोँग भने नपिटेको भए हुने ।

उनको खण्डनमा अर्को हास्यास्पद विषय उनले यसरी उल्लेख गरेका छन्, ‘मैले मधेशमा पत्रकारिता गरेकाले मलाई मधेशी भाषा आउँदैन, त्यसैले समाचारमा सत्यता छैन ।‘ पत्रकारको खोल ओढेका शंकरले यो बुँदामा यस्तो लेखेको भए झनै राम्रो हुने थियो । ‘ म शंकर पहाडी, म मधेशमा बस्छु, तर मधेशमा मैले पत्रकारिता गरेकै छैन, मैले त दलाली, चाकरी, धन्दा र असुली गरिरहेको छु, त्यसैले यो समाचार सत्य होइन ।‘ कि कसो ?

खण्डनको अर्को बुँदामा उनले लेखेका छन्, ‘प्रहरी लगाएर सामान जफत गराउने हामी प्रहरीको कुन दर्जाको व्यक्ति हो ? यसको जवाफ हिमालपोस्टका सम्पादकले दिन सक्नुपर्छ । नत्र यो समाचार सत्य होइन ।‘ अब शंकर पहाडी र ऋतिक अधिकारी प्रहरीको कुन दर्जाको व्यक्ति हो भन्न नसके समाचार असत्य हुने नियम चाँही कहाँबाट आयो ? कहिलेबाट आयो ? हुन त बोर्डीगार्डले गर्ने पत्रकारिता र सोध्ने प्रश्नको स्तर नै यहि होला ।

अर्को बुँदामा उनले कमेडी गर्दै भनेका छन्, ‘मैले राष्ट्रिय समाचार समिति राससमा करिब ३/४ वर्षदेखि काम गर्दै आएको छु र ३/४ वर्षदेखि अनलाईन पनि चलाएको छु ।‘ शंकर पहाडी आफैलाई थाहा छैन कति वर्ष काम गरेको भन्ने, पहिला एकिन हुनुपर्यो ३ वर्ष हो कि ४ वर्ष ? कि शंकरले गर्ने पत्रकारितामा यसको फरक अर्थ हुन्छ ? अनि करिब ३/४ वर्ष कसरी हुन्छ ? यो कस्तो भाषा हो । कि मादक पदार्थ सेवन गरेर खण्डन लेखेको हो ?

सायद शंकर यो खण्डन लेख्नेबेला होशमा थिएनन, या असुलीको पैसा दिएर अर्कैलाई खण्डन लेख्न लगाएका थिए भन्ने अर्को बुँदाले पुष्टि गर्छ । उनले सर्लाहीबाट लामो समय पत्रकारिता गरेको र अन्य पत्रकारले भन्दा बढी स्थानीय जनताको समस्या उजागर गरेको लेखेका छन्, यत्ति लेखेको भए ठिकै हुन्थ्यो, बढी जान्ने हुँदा उनी फेरि चिप्लिएका छन्, उनले फेरि लेखेका छन्, ‘म ढुक्क छु, मलाई यहाँका स्थानीयले चिन्दैनन् । खण्डनमा यत्ति पढेपछि हामीले अगाडी पढ्न जरुरी ठानिएन । र उनको हास्यास्पद खण्डन प्रकाशन गर्न पनि जरुरी ठानिएन।

यससँग सम्बन्धित थप समाचार

सर्लाहीमा पत्रकारको आतंक- डिआइजीको बडीगार्ड भन्दै हप्ता असुली, मेयरले गर्छन संरक्षण