सिकलसेल रोग सम्बन्धि पैरवी कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सिकलसेल रोग सम्बन्धि पैरवी कार्यक्रम सम्पन्न



सुखड,कैलाली । घोडाघोडी नगरपालिका-१ सुखडमा सिकलसेल रोग सम्बन्धी पैरबी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा घोडाघोडी नगरपालिकाको समन्वयमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजिकरण गर्दै जिल्ला जनस्वास्थ्य कार्यलय कैलालीका जनस्वास्थ्य निरिक्षक महेश चन्दले मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हाँसिया जस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकल सेल भनिएको सहभागीलाई जानकारी दिए ।

सिकल सेल रोग भएका बिरामीहरुको गोलाकार रक्तकणिकाहरू छिटोछिटो नष्ट भई रक्त सञ्चारमा अवरोध उत्पन्न हुँदा विरामीको रगतमा अक्सिजनको कमी भइ शरिरका विभिन्न भित्री अंगहरुमा नोक्सानी पुग्ने चन्दले सहभागीहरुलाई जानकारी दिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका हेल्थ असिस्टेन कृष्ण दत्त पन्तले हालै नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्संग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाहरुको डिएनए परिक्षण गर्दा १८ प्रतिशत ब्यक्तिहरुमा सिकल सेल हेटेरोजाईगोस ट्रेट भेटिएको बताए । सिकलसेल भएका बिरामीहरुले स्वस्थ राख्नका लागि दैनिक फोलिक एसिडको सेवन गर्ने, प्रशस्त मात्रामा पानी पिउने ,चिकित्सक संग नियमित स्वस्थ्य परिक्षण गराई सल्लाह सुझाव लिनको लागि पन्तले आग्रह समेत गरेका छन् ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा , घोडाघोडी नगरपालिकाका वडा अध्यक्ष,वडा सदस्य,बिभिन्न शाखाका प्रमुख,महिला स्वयंसेवीका,घोडाघोडी उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।