सुडानमा 'सैनिक कू', सेनाले गोली हान्दा कैयौँ प्रदर्शनकारीको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुडानमा ‘सैनिक कू’, सेनाले गोली हान्दा कैयौँ प्रदर्शनकारीको मृत्यु



एजेन्सी- सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको ज्यान गएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १४० जना घाइते भएका छन् ।

सत्ता कब्जाको विरोधमा प्रदर्शन गरेकाहरुको भीडमा सैनिकले गोली प्रहार गरेका हुन् । सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको हो । राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी सेनाले सोमबार सुडानमा आपतकालीन अवस्था घोषित गरेको छ ।

राजधानीमा सैनिकहरु सर्वसाधारणका घरघरमा गएर विरोध प्रदर्शन आयोजना गर्नेहरुलाई पक्राउ गरिरहेको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सेनाले गरेको सत्ता कब्जाको विश्वभरबाट विरोध भइरहेको छ । अमेरिकाले सात सय मिलियन डलर बराबरको सहयोग रोक्ने बताएको छ ।

राजनीतिक अस्थिरताका कारण आफूहरुले सत्ता कब्जा गर्नु परेको कू का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् ।

दुई वर्षपहिले लामो समयदेखिका शासक ओमर अल–बाशिर सत्ताबाट हटाइए यता सेना र सरकारबिच तनाव रहँदै आएको थियो ।

सेनाले प्रदर्शनकारीमाथि ज्यादती गरे पनि प्रदर्शन भने रोकिएको छैन ।