सुदूरपश्चिमको भन्सारबाट आयात साढे २३ अर्ब, निर्यात ९३ करोड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुदूरपश्चिमको भन्सारबाट आयात साढे २३ अर्ब, निर्यात ९३ करोड



धनगढी । सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा नाकाको तथ्यांक हेर्दा व्यापार घाटाको अवस्था डरलाग्दो छ । कैलालीको त्रीनगर भन्सार, कञ्चनपुरको गड्डाचौकी भन्सार, बैतडीको जुलाघाट भन्सार र दार्चुलाको भन्सार नाकाको तथ्यांकअनुसार गत वर्ष आयातको चार प्रतिशत मात्रै निर्यात भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

चारवटै भन्सार कार्यालयबाट २३ अर्ब ४८ करोडको आयात भएकोमा निर्यात ९३ करोड मात्रै छ । सुदूरपश्चिमका बैतडी र दार्चुलाका नाकाबाट त निर्यात शून्य छ । प्रदेशको सबैभन्दा ठूलो नाका कैलालीका त्रीनगरबाट २१ अर्ब ७८ करोडको आयात भएकोमा ८३ करोडको मात्रै निर्यात भएको छ ।

सुदूरपश्चिमको भारतसँग जोडिएको अर्को मुख्य नाका गड्डाचौकीबाट एक अर्ब १५ करोडको आयात गरिएकोमा १० करोड ६० लाखको मात्रै निर्यात भएको छ । बैतडीको जुलाघाट नाकाबाट ५५ करोडको आयात गरिएकोमा निर्यात भने शून्य छ । दार्चुला भन्सार कार्यालयबाट ७१ लाखको सामान आयात भएकोमा २२ लाखको निर्यात गरिएको छ ।

कैलाली नाकाबाट आयात भएको सामानमध्ये ४९ प्रतिशत योगदान पेट्रोलियम पदार्थको मात्रै छ भने त्यसपछि बिस्कुट, दालमोठ, नमकिन, कागज ट्याक्टर, टायर र खाद्यान्न बढी आयात भएको छ । भन्सारबाट नेपाल भित्रिने मुख्य १० वस्तुमा खाद्यान्न र गुट्खाका लागि प्रयोग हुने तम्बाकुयुक्त मसाला पनि छ ।

‘यो डरलाग्दो व्यापार घाटा हो, यसले हाम्रो प्रदेश कति परनिर्भर छ भन्ने कुरा देखाउँछ’, कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले भने । कैलाली भन्सारबाट दैनिक अनुपातमा दुई सय मालवाहक ट्रक नेपालका लागि सामान ल्याएर भित्रिने गरेका छन् । ‘हामीले पनि ती ट्रकमा केही न केही कुरा भरेर पठाउन पाए पो व्यापार घाटा कम हुन्छ । उताबाट आउने मात्रै, जाने कुनै कुरा छैन, प्रदेशका लागि यो चिन्ताको विषय हो’, पूर्वअध्यक्ष भण्डारीले भने ।

नेपालबाट भारत जाने सामान भनेको कत्था, टर्पेन्टायल तेल, पिना र रोजिनमात्रै हो । कैलाली भन्सारबाट मात्रै गत वर्ष सवा एक अर्बको मसिना तथा बास्नादार चामल मात्रै आयात भएको छ ।