गौतमश्री सहकारीमा चौधरी र सुमार्गीको मात्रै १७ करोड, २५ करोड अर्का व्यापारीको - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गौतमश्री सहकारीमा चौधरी र सुमार्गीको मात्रै १७ करोड, २५ करोड अर्का व्यापारीको



काठमाडौं- जनताको अरबौँ रकम कुम्ल्याएर सञ्चालक फरार बनेको गौतमश्री बहुद्देश्यीय सहकारी संस्थामा ठूला घरानियाको रकम समेत रहेको खुलेको छ ।

सञ्चालक नै फरार बनेपछि एभरेस्ट बैंकले सिल गरेको गौतमश्री सहकारीमा विनोद चौधरीको ९ करोड र अजय सुमार्गीको ८ करोड रुपैयाँ निक्षेप रहेको खुलेको छ।

स्रोतका अनुसार उक्त सहकारीमा चौधरी र सुमार्गीले निक्षेपको रुपमा उक्त रकम राखेका थिए । करिब ३ वर्षअघि सहकारी विभागले गरेको अनुगमनका क्रममा उनीहरूको रकम देखिएको थियो ।

स्रोतका अनुसार उक्त सहकारीमा उनीहरू बाहेक प्रतिष्ठित व्यापारिक घरानाको समेत लगानी रहेको बताइएको छ । एक जना व्यापारीको २५ करोड रुपैयाँ समेत यस सहकारीमा रहेको बताइएको छ ।

उक्त सहकारीमा सहकारी माफियाको हालमुहाली रहेको समेत पत्ता लागेको छ । सञ्चालकहरू फरार भएपछि आइतबार सहकारी विभाग घेराउका लागि पुगेका निक्षेपकर्ताहरुले पनि चौधरी र सुमार्गीले समेत निक्षेप राखेको सहकारी डुब्छ भन्ने कल्पना आफूहरूले नगरेको बताएका थिए।

उक्त सहकारीमा २५ करोड रुपैयाँ निक्षेप राख्ने व्यापारीको नाम भने खुलाइएको छैन। कमजोर नियमन र सुपरीवेक्षणको फाइदा उठाउँदै व्यापारीले कर छलेको रकम सो सहकारीमा राखिएको बुझिएको छ ।

गौतमश्री सहकारीका सञ्चालक फरार भएपछि सहकारी विभाग घेराउ गर्न पुगेका निक्षेपकर्ताहरूको भिडमा मारवाडी समुदायका व्यक्ति पनि उल्लेख्य रुपमा थिए। उनीहरू मिडियादेखि लुकिरहेका थिए।