मेडिकल माफियाको ट्याग लागेका डाक्टरलाई मन्त्रालयभित्रै विद्यार्थीले जब च्याप्प समाते... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेडिकल माफियाको ट्याग लागेका डाक्टरलाई मन्त्रालयभित्रै विद्यार्थीले जब च्याप्प समाते…



काठमाडौं- विद्यार्थीहरूले मेडिकल माफियाको आरोप लगाएका काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मामाथि मन्त्रालयभित्रै कालोमोसो दलिएको छ ।

शर्मालाई विद्यार्थी संगठनका नेताहरूले कालोमोसो दलेका हुन् । सरकारले दिएको निर्देशन समेत नमानेर निरन्तर चर्को शुल्क अशुल्दै आएका शर्मामाथि मन्त्रालयभित्रै विद्यार्थीहरूले समातेर कालोमोसो दलेका छन्

मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कने क्रममा शुक्रबार शर्मालाई सिंहदरबारभित्रै विद्यार्थीहरुले कालोमोसो दलिदिएका हुन् ।

मन्त्रालयबाट बाहिरिँदै गर्दा विद्यार्थी नेताले नमस्कार सर भनेका थिए । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि कालोमोसो दलिएको प्रत्यक्षदर्शीले बताए ।

शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो ।

शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी महिनौदेखि आन्दोलनमा छन् । उनीहरुको आन्दोलनलाई विप्लव निकट विद्यार्थीहरुले साथ दिर्दै आएका छन् ।