सुनसरी १ मा एमाले–जसपा गठबन्धनको क्लिनस्वीप - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सुनसरी १ मा एमाले–जसपा गठबन्धनको क्लिनस्वीप



एमाले र जसपाको तालमेलले सुनसरी १ क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा जसपा नेता विजयी हुँदा प्रदेशका दुवै सिट एमालेले जितेकाे छ । अघिल्लो पटकको निर्वाचनमा कांग्रेसलाई साथ लिएर चुनावमा एमालेसँग पराजित अशोक राई यो पटक एमालेको सहयोगमा विजेता बनेका हुन् ।

एमालेका जयकुमार राईसङ दोब्बर मतले पराजित अशोकले यो पटक रास्वपा उमेदवार गोमा तामाङलाई पराजित गरेका हुन् । प्रतिनिधिसभामा अशोक राई निर्वाचन हुँदा प्रदेश सभा एक र दुईमा नेकपा एमालेका उमेदवारहरू विजय भएका छन् । प्रदेशसभा एकमा रमेश बस्नेत विजय हुँदा प्रदेशसभा दुईमा विजय राई निर्वाचित भए ।

विजयी राईले राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गरेका हुन् । राईले १२ हजार ४६४ मत प्राप्त गरे भने राप्रपाका ढकालले ७ हजार ४८२ मत प्राप्त गरे । त्यसैगरी सत्ता गठबन्धनबाट नेकपा एसका रेवतीरमण राईले ४ हजार ९८८, स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८, स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईले २ हजार ६९८ मत प्राप्त गरेका छन् ।

यता प्रदेश १ मा रमेश बस्नेत नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले हराउँदै प्रदेशसभा सदस्यमा विजयी भए । बस्नेतले ११ हजार १०२ मत पाएका छन् भने थापाले ९ हजार ७५२ मत ल्याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं १ का अनुसार प्रदेशसभा १ तर्फ कुल ३९ हजार ७२६ मत खसेको थियो । त्यसमध्ये ३७ हजार ९४२ मत सदर भएको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए ।