काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो



दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन् । त्यसमध्ये पावर चाइना (सिनो हाइड्रो)का उच्च प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरलाई भेटेरै प्रस्ताव राखेका छन् । रेलवे कम्पनीका प्रतिनिधि भने सुरुङमार्गको स्थलगतसहित सम्पूर्ण प्रतिवेदन अध्ययन गरी चीन फर्किएका छन् ।

मन्त्री बलायरले सुरुङमार्ग निर्माण सम्बन्धमा पावर चाइनका प्रतिनिधिसँग गहन छलफल भएको बताए । ‘काठमाडौं–कुलेखानी–हेटाैँडा सुरुङमार्ग निर्माण ढिला भइरहेको थियो । अब यसलाई स्थगित नै गर्ने भन्ने मनस्थितिमा सरकार पुगेको थियो । यही समयमा सुरुङमार्ग निर्माणमा चासो देखाउँदै भेट्न आएका पावर चाइनाका प्रतिनिधिसँग छलफल भएको छ । उनीहरूको प्रस्तावमा विश्वस्त हुने केही आधार भेटिएका छन्,’ उनले भने ।

सुरुङमार्गको डिपिआर परिमार्जन गर्न प्रस्ताव
पावर चाइनाका प्रतिनिधिले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) परिमार्जन गर्न चाहेको मन्त्री बलायरले बताए । ‘सुरुङमार्ग निर्माणका विषयमा विस्तृत छलफल भयो । उनीहरूले डिपिआरमा केही परिमार्जन चाहेका छन् । त्यसो हुन सके लगानी गर्न सक्ने उनीहरूको आशय थियो । पावर चाइनाको सिनो हाइड्रोले नेपालमा यसअघि पनि धेरै खालका पूर्वाधार निर्माण गरेको छ, सुरुङमार्ग निर्माणमा चासो देखाएकाले विश्वस्त हुने ठाउँ देखियो,’ उनले भने ।

सुरुङमार्ग निर्माता नेपाल पूर्वाधार विकास कम्पनीका सञ्चालक सदस्य सुवासचन्द्र ठकुरीले पावर चाइनासँगै सुरुङमार्ग निर्माणमा चाइना रेलवे कम्पनीले पनि तीव्र इच्छा राखेको बताए । रेलवे कम्पनीले लगानीका लागि चिनियाँ बैंकसँग प्रक्रिया नै थालेको उनको दाबी छ । इच्छा राख्ने दुईमध्ये जुन कम्पनी भरपर्दो हुन्छ, उसैसँग सुरुङमार्ग निर्माणको सम्झौता हुने ठकुरीले बताए । ‘सुरुङमार्ग निर्माणमा दुईवटा कम्पनीले इच्छा देखाएका छन् । त्यसमध्ये जुन कम्पनी भरपर्दो हुन्छ, उसैसँग सम्झौता हुन्छ । त्यसलगत्तै निर्माणकार्य अघि बढ्छ,’ उनले भने ।

सुरुङमार्ग निर्माणको म्याद थपिने
चिनियाँ कम्पनीसँगको भेटपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुरुङमार्ग निर्माणको म्याद थप्ने मनस्थितिमा पुगेको छ । अब थप हुने म्याद अवधि भने निर्माता कम्पनीका लागि अन्तिम हुनेछ । ‘सुरुङमार्ग निर्माण गर्न चिनियाँ कम्पनी आएपछि म्याद अवधि थप्ने कि भन्ने मनस्थितिमा मन्त्रालय पुगेको छ । यदि म्याद थप भए त्यो निर्माता कम्पनीका लागि अन्तिम हुनेछ । निर्माता कम्पनीले त्यस अवधिभित्र कुनै हालतमा सुरुङमार्ग निर्माण गरिसक्नुपर्नेछ, नत्र सम्झौता खारेज हुनेछ,’ मन्त्री बलायरले भने ।

पाँच वर्षभित्र सुरुङमार्ग बनाइसक्ने लक्ष्यका साथ निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले १७ पुस ०६८ देखि काम सुरु गर्नुपर्ने थियो । निर्धारित समयमा काम सुरु गरिएको भए वर्ष दिनअघि नै सुरुङमार्ग निर्माणको काम सकिइसक्ने थियो । तर, अहिलेसम्म काम शून्य छ।

नयाँ पत्रिकामा यो खबर छ |