जसपाको ठाकुर समूह भित्र चरम असन्तुष्टि: नेताहरूबीच चर्कियो विवाद - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जसपाको ठाकुर समूह भित्र चरम असन्तुष्टि: नेताहरूबीच चर्कियो विवाद



काठमाडौं- सरकारमा सहभागी भएको बिषयले जनता समाजवादी पार्टीका महन्थ ठाकुरको समूहभित्रै विवाद उत्पन्न भएको छ । लामो समयसम्म सरकारमा कसलाई पठाउने भन्ने तयारी गर्दा समेटिएका नाम काटेर नयाँ सदस्यलाई सरकारमा पथाइएको भन्दै केहि नेताहरू असन्तुष्ट भएका हुन् ।

पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवलाई समेत सरकारमा नपठाएपछि जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षभित्रै फुटको सम्भावना देखिएको छ । पूर्व राजपाका अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक जना सदस्य महेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन्।

सबै संयोजन महन्थले गरेको र पूर्व राजपाबाट एक जना सदस्य राजकिशोर यादवलाई मात्र उनले सरकारमा पठाइएन। यसबाट राजकिशोर असन्तुष्ट रहेको बताइएको छ। यसैगरी सरकारमा जान इच्छुक देखिएका प्रमोद साहलाई पनि ठाकुरले सरकारमा पठाएनन्। यसबाट साह असन्तुष्ट भएका छन्।

उनले आफूलाई जनताले बिश्वास गरेपनि पार्टीले हेला गरेको बताएका छन् । उनले कतिपय जनमत नै नभएकालाई समेत सरकारमा लागिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । साह सर्लाही १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

प्रतिनिधि सभाको टिकट दिँदा पनि आफूलाई अन्याय गरेको उनले बताए। ‘मेरो घर नभएको, पूर्व राजपाले ३ वटा मात्र वडामा जितेको क्षेत्रमा मलाई टिकट दिइयो’ साहले भने, ‘त्यो उम्मेदवारी मनोयन गर्नुको अघिल्लो दिन राती १२ बजे टिकट दिइयो।’ आफ्नो व्यक्तिगत लोकप्रियताबाट चुनाव जितेको उनले बताए।

स्रोतका अनुसार सरकारमा नपठाएपछि उपेन्द्र यादवबाट कित्ता परिवर्तन गरेर ठाकुर कित्तामा पुगेका रुही नाथ र कल्लुदेवी विश्वकर्मा पनि असन्तुष्ट भएका छन्। यादव पक्षमा कित्ता परिवर्तन गरेको ५ सांसदमध्ये बिमल श्रीवास्तव, उमाशंकर अरगरैया र रेणुका गुरुङलाई ठाकुरले सरकारमा पठाएका छन्।