नागरिकता बनाउँदा घुस माग्ने सैनामैनाका वडासदस्य - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नागरिकता बनाउँदा घुस माग्ने सैनामैनाका वडासदस्य



बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाका जनप्रतिनिधिले नै घुस मागेको फेला परेको छ । सैनामैना नगरपालिकाका २ नम्बर वार्डका वडासदस्य थानेश्वर गिरीले सेवाग्राहीसंग घुस मागेका छन् ।

गिरी नेकपा एमालेबाट चुनाव जितेका वडाध्यक्ष हुन् । उनले आफ्नै वडाका एक सेवाग्राहीसँग घुस मागेको खबर बाहिरिएपछि वडावासी आक्रोशित भएका छन् । जनप्रतिनिधिले नै घुस लिएको खबरले अहिले सैनामैना आतंकित बनेको छ ।

नागरिकता बनाइदिने भन्दै घुसको मोलमोलाई गरेको भन्दै पीडित पक्षले छानविनका लागि वडा कार्यालयमा निवेदन दिएका छन् । नागरिकता बनाइदिने भन्दै सोमनारायण थारूसंग दश हजार घुस मागेको निवेदनमा उल्लेख गरिएको छ ।

पीडित पक्षले छानविनका लागि भन्दै वडा कार्यालयमा निवेदन दिएका छन् । वडासदस्य गिरीमाथि तत्काल कारवाही गर्न माग गर्दै वडाअध्यक्ष कामदेव भुसालसमक्ष निवेदन बुझाइएको छ ।

आक्रोशित स्थानीयले बिहीबारसम्म सत्यतथ्य छानबिन गरी टुंगो नलगाए वडा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् ।

उनले आरोपित वडासदस्यले घुस लिए नलिएको बुझ्न छानबिन समिति गठन गर्ने तयारी गरेको बुझिएको छ । आरोपित गिरीले भने घुस नमागेको जिकिर गरेका छन् ।

उनले नागरिकता लिनका लागि जनप्रतिनिधिको हैसियतले सहजिकरण गरेको तर रकम नमागेको बताएका छन्।