मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की - Himal Post Himal Post
  • ५ चैत्र २०८०, सोमबार
  •      Mon Mar 18 2024
Logo

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की



काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले भ्रष्टाचार र अनियमितताबारे समाचार लेखेकै भरमा गुण्डाहरू पठाएर धम्की दिएका छन् । हिमालपोष्टमा २०७९, २६ श्रावणमा अनियमितताका बारेमा छापिएको समाचारलाई लिएर आफूलाई मेयर थापाका भाई बताउने व्यक्तिले धम्की दिएका हुन् ।

बागमती नगरपालिकामा मेयर थापाले १२१ बिगाहा जमिनमा ताल निर्माण गर्दा त्यहाँको माटो, बालुवा र अन्य निर्माण सामाग्रीमा अनियमितता गरेको बारेमा अख्तियार अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा हिमालपोस्टमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारलाई लिएर आफूलाई मेयर थापाको भाई बताउने रामकुमार थापाले धम्क्याएका छन् ।

अख्तियार अनुसन्धान आयोगमा परेको उजुरी र सार्वजनिक लेखा समितिले गरिरहेको अनुसन्धानलाई प्रभावित पार्न मेयर थापा विभिन्न नेताहरूकोमा हारगुहार गरिरहेको मेयर थापा आफैले हामीसँगको कुराकानीमा स्वीकार गरिसकेका छन् ।

‘हाम्राविरुद्ध समाचार किन छापेको ? भन्दै मेयरका भाई बताउने ती व्यक्तिले समाचारको स्रोतबारे नबताए राम्रो नहुने भन्दै गुण्डागर्दी शैलीमा धम्क्याएका थिए । ‘अहिले नै समाचारको स्रोत चाहियो होइन भने जे पनि हुनसक्छ, नत्र समाचार सच्याउनुपर्छ’ उनले भने ।

९८५४०२५५९४ नम्बरको मोबाइलबाट फोन गरेर मेयरको बारेमा अन्य सूचना दिने भन्दै बोलाएका उनले कुराकानीको सुरुवातमै ‘म मेयर भरत थापाको भाई हो, हाम्रोविरुद्धमा समाचार छाप्ने तिमी होइन ?’ भन्दै अराजक शैलीमा प्रस्तुत भएका थिए । समाचारमा कुनै समस्या भए प्रेस काउन्सिल नेपालमा उजुरी गर्न आग्रह गर्दा उनले अपशब्द बोल्दै ‘त्यस्ता मु* प्रेस काउन्सिल मैले जानेको छैन’ भन्दै धम्क्याए ।

आफ्नो नाम रामकुमार थापा बताउने ती व्यक्तिले अन्य तीनजना व्यक्ति समेत राखेर गुण्डागर्दी शैलीमा धम्क्याएका थिए । यसरी धम्कीको भाषा प्रयोग गर्नु राम्रो नभएको भन्दै सम्बन्धित निकायमा जान आग्रह गर्दा उनले आफूलाई कोही माइकालालले केहि गर्न नसक्ने भन्दै टेबल ठटाउँदै थर्काएका थिए ।

उनलाई सम्बन्धित निकायमा जान र चित्त नबुझेको कुरा राख्न बारम्बार आग्रह गर्दा उनले थप धम्क्याउँदै आफूहरू उजुरी गर्ने खालको मान्छे नभएको सिधै एक्सन लिने मान्छे भएको बताए । उनले भने, ‘हामी उजुरी सुजुरी गर्ने मान्छे होइन, सिधै एक्सन लिने मान्छे हो, मैले पहिलै भन्दिएको छु नि फेरि ।’

यस विषयमा प्रतिक्रिया लिन मेयर थापालाई फोन गर्दा उनको फोन उठेन । त्यसअघि मेयर थापासँग भएको फोन सम्पर्कमा हामीले समाचारमा बिमति भए खण्डन लेख्न वा सम्बन्धित निकायमा गएर उजुरी गर्न आग्रह गरिएको थियो ।

मेयरका भाई बताउने थापा स्रोत व्यक्तिको बारेमा नबताए जे पनि गर्न सक्ने भन्दै अराजक शैलीमा प्रस्तुत भएका थिए । जबकी हिमालपोस्टले मेयर थापाको भनाई समेत राखेर समाचार प्रकाशन गरेको थियो ।

यससँग सम्बन्धित सामाग्री र धम्कयाउने क्रममा गरिएको रेकर्ड हिमालपोस्टसँग सुरक्षित छ ।