द लास्ट वर्ड (भाग दुई) « Himal Post | Online News Revolution
Logo

द लास्ट वर्ड (भाग दुई)



– शुष्मा पन्त

“के गर्दै हो श्रुति ?”- सिमरन दिदीले उता बाट फोनमा सोध्नु भयो ।
-“दिदी म त सुतिरहेको छु।”
मेरो जवाफ सुन्ने बितिकै दिदीले जिस्काउदै भन्नु भो ” अल्छि केटी यति बेला सम्म सुत्ने हो त ? ”
-“होइन दिदी, आज काम छैन छुट्टी छ त्यसैले हो !”
ल कान्छी ! छुट्टी भए बेलुका भेट्नु पर्छ। सिमरन दिदीले बेलुका उहाँको कोठामा बोलाउनु भयो । ” द लास्ट वर्ड” क्याफेमा भेटे पछि दिदी मसँग धेरै नजिक हुनु भएको थियो। छोटो समयमा हामी धेरै मिल्ने साथी भएका थियौ। दिदीले आफ्ना सुख दु:खका जीवनका भोगाईहरु मलाई सुनाउनु भएको थियो । मैले पनि आफ्नो कथा व्यथाहरु दिदीसँग साटेर मन हलुका गराएको थिए। कहिले कहीँ जीवनमा लामो समय परिचय दिएका व्यक्तिहरू भन्दा छोटो समयमै आफ्नोहुने मध्ये कि थिइन सिमरन दिदी मेरो लागि ।

विदेशको व्यस्त जीवन हप्ता भरीलाई पुग्ने ग्रोसरी सपिङ्ग गरेर बेलुका गोधुली साँझमा दिदीको घरमा पुगेको थिए। “लाटी बल्ल आईपुगी , दिउसो नै आएर दुई बहिनी गफ गर्दै बसौला भनेको ” ढोका खोल्दै दिदीले भन्नु भयो। “भोलि देखि फेरी त्यही मेसिनको जिन्दगी एक हप्तालाई त जोहो गर्नु पर्‍यो नि दिदी ” मैले ब्याग सोफामा राख्दै भने- “के हो दिदी यस्तो मिठो बासना ? के पकाउन लाग्नु भएको छ र ?”।

“तलाई मन पर्ने म:म, आइज किचनमा तिरै बसौ “किचन तिर पस्दै दिदीले मलाई नि उतै बोलाउनु भयो । नेवारी मिठो म:म अचारको बासना रहेछ त्यो, मुख नै रसाउने । तातो तातो म:म खादा काठमाडौँमा साथीहरुसंगै घुमेका ती स्मरणहरु मनमा घुमिरहेका थिए। हामी नेपालका रमाइलो दिनहरुको कुरा गर्दै म:म खाएर किचन सफा गर्दै थियौ , मैले भाडा माझ्दै थिए दिदीले सामान मिलाउदै । त्यही बेला दिदीको फोनमा “संयोग ” नाम कलर आइडीमा देखा पर्‍यो । ” कान्छी कसको फोन हेर त ?” मैले भने “दिदी संयोगको” । दिदीले झिजो मान्दै भनिन” ह्या त्यतिकै छोडदे। अझै के नपुगेर फोन गरेको छ।”

त्यही नाम बाट फेरी फोन आई रहेको थियो , दिदीले भने उठाउनु भएन । मिसकलको सङ्ख्या १,२,३ गर्दै थपिदै थियो। धेरै चोटि आए पछि दिदीले फोन उठाउनु भयो । ” ए यार! तिमीलाई मैले कति सम्झाउने फोन नगर भनेर ” तिमीलाई फेरी ब्लक हान्नु परेको। उता बाट के कुरा हुँदै थियो सुनिने कुरा भएन तर दिदीले एक्कोहोरो फोनमा भन्दै गईन ” तिमीलाई अझै के पुगेन भन त ?” तिमीलाई थाहा छ त यार सबै कुरा ,म तिमीसँग कुनै इन्ट्रेस्ट छैन भनेर ,ल पछि कुरा गरौला मेरो बहिनी आको छ । उता बाट कति पछि भनेर सोधेको हुनु पर्छ त्यसैले दिदीले भनिन ” कति पछि पछि नि , समय भए पछि गर्छु यार तिमी गिदी नगर ।”

फोन राख्दै दिदीले भनिन ” साला ! काम पाउदैन खाली ल्यांग ल्यांग गर्दै बस्छ । ” ,दिदीको अनुहारमा रिस झल्किएको थियो त्यही नि आट गरेर मनको खुल्दुली मेटाउन सोधे ” को हो दिदी संयोग ? ” कोही होइन , नाम जस्तै मेरो जीवनमा आएको एउटा संयोग मात्र हो ।
अनुहारमा केही पिडा झल्किएको थियो मैले कुरा अगाडी बढाउन खोजिन अनि हामी काम सकेर सोफामा बस्दै थियौ । दिदीले फ्रिज बाट बोतल र किचनको र्याक बाट गिलास र चिप्सहरु लिएर आउनु भयो । मस्काटो वाइन , चिप्स र कोक टेबुलमा राख्दै भन्नु भयो ” चाख्छस थोरै ?’ नाई दिदी मैले अहिले सम्म खाएको छैन ।” यस्ताले नि रेस्टुरेन्टमा काम गर्छन्”- मलाई जिस्काउदै भन्नु भो ।

दिदी र म चिप्स खादै नेपाल आईडलको सो हेर्दै बसेका थियौ। सकिए पछि हामी आफ्ना कामका साथी भाइका कुरा गर्दै थियौ मलाई भने संयोग को होला भनेर मनमा प्रश्नहरू धेरै खेलेको थियो । मस्काटो वाइनको हल्का लागेको बेला दिदीले पक्कै कुरा खोल्छिन भन्ने अनुमान गरेर मैले फेरी सोधे ” दिदी, भन्नु न त्यो संयोग भन्ने को हो ?” जीवनमा खतरा कलाई म्याक्स आयो यार यो संयोगले गर्दा नि ” ।उनको दार्शनिक तर्कलाई मोड्न मैले सोधे ” कसरी दिदी ?”। अनि दिदीले आफ्नो कथा सुनाउन लागिन ।

संयोगले अहिले मलाई मन पराउछ र बारम्बार बिहेको प्रस्ताव राखी रहेको छ । हामी बिच कोर्ट म्यारिज भई सकेको छ ।तर मलाई उसँग कति नि जीवन बिताउनु छैन उसैले गर्दा मेरो जीवन आज यो मोडमा आयो , गल्ती मेरो नि थियो होला तर ….. । अपुरो वाक्य छोड्दै दिदी ले आँखा बाट आँसु खसालिन।

मलाई भने दिदीले बताएको कुराले धेरै प्रश्नहरू जेलिएका थिए , “बिहे भई सकेको तर फेरी विवाह प्रस्ताव राख्दै छ , मन पराउछ ।” यस्तो नि हुन्छ र मनमै प्रश्न गरे , उतर सिमरन दिदीसंगै थियो अनि सोधे ” दिदी बिहे भई सकेको मान्छेसंग फेरी बिहे किन त ? ।

“सुन म भन्छु “- दिदीले सुनाउदै गईन । अमेरिका आउनु अगाडी नै म बर्षातसँग प्रेममा थिए। नेपालमा हुँदा हाम्रो सम्बन्ध धेरै राम्रो थियो । त्यही क्रममा दुवैको सल्लाहमा म अमेरिका आए । यहाँ आए पछि एक दुई महिना ठिकै थियो तर दिन प्रति दिन हाम्रो सम्पर्क पातलिदै थियो । मेरो कलेज , काम , थकाई बर्षातले बुझ्दैन थियो न त मैले बुझाउन नै सक्थीए । घन्टौ कुरा हुने हाम्रो दैनिकी परिवर्तन हुँदै केही मिनेटमा सीमित भएको थियो। तर पनि हाम्रो भविष्य त राम्रो हुन्छ नि भनेर चित्त बुझाउने गर्थिए । हाम्रो परिवारमा पनि हाम्रो सम्बन्धको बारेमा थाहा थियो।दिदीले बताएको कुरा बाट केही पनि बुझ्न सक्ने अवस्था थिएन , दिदीले वाइन थप्दै भनिन ” म नेपाल जाने तयारीमा थिए बिचमा बर्षातले सानो सानो कुरामा झगडा गर्न थाल्यो । कुरा बुझ्न नै छोडे पछि मलाई नि अत्ति भयो।

त्यति नै बेला एक्कासि घरमा बुवा बिरामी हुनु भयो। मुटु को अप्रेसन गर्न पर्ने भयो।मेरो घरमा आर्थिक सङ्कट परेको थियो अर्को तिर बर्षातको किच किच । सबै तनावले गर्दा मैले काम नि धेरै गर्न सकेको थिएन यता मलाई फि तिर नि गाह्रो भएको थियो । बर्षात सँग मैले सम्पर्क नै टुटाए। माया लाग्थियो तर पनि उसको व्यवहार समझदा उसँग बोल्न नै मन लग्थेन । यस्तै कुरा झेल्दै नेपाल गए। नेपाल गएको अर्को दिन नै आमाले घरको आर्थिक अवस्थाको बारेमा बताउनु भयो । बुवा पनि त्यही कुराले धेरै टेन्सनमा हुनु हुन्थियो । मसँग नि कुनै पैसा थिएन । मलाई एउटा पुरानो प्रस्ताव याद आयो। बुवाको साथीको छोराले मलाई अमेरिका लगे पैसा दिने भनेको थियो त्यस्ता अफर हरेक दिन आउथिए तर मलाई मतलब नै लाग्थीएन ।

त्यही प्रस्ताव गर्ने मध्येको थियो संयोग , हामी सानै देखि साथी थियौ तर ऊ पढाइमा खासै राम्रो थिएन त्यसैले नि ऊ म मार्फत आउन खोजेको थियो । घरमा सहयोग होस् भनेर मैले संयोगलाई आफू पेपर म्यारिज गरेर उसलाई अमेरिका लैजान तयार रहेको बताए तर उसले मलाई ३-४ दिनमा सबै पैसा दिनु पर्ने सर्त राखे । यो कुरा मैले कसैलाई नि नभन्नु भनी संयोगलाई कन्भिन्स गरे ! मसँग यो भन्दा अरू कुनै पनि विकल्प थिए। संयोगसंग लिगेको पैसाले बुवाको उपचार हुने भयो । कहाँ बाट पैसा आयो भन्दा अमेरिका बाट साथीहरूसँग मागेको गएर पछि तिर्छु भनेर उहाहरुलाई सम्झाएको थिए।

नेपाल गएको एक हप्तामा बर्षातको म्यासेज आयो । ” नेपाल आएर पनि खबर छैन ?” मलाई ऊ देखि अझै नि रिस उठीरहेको थियो त्यसैले रिपलाई गरिन । म कति दुखहरु झेल्दै अगाडी बढेको, उसलाई कुनै मतलब नि छैन जस्तो मेरो मनमा लागेको थियो । यता संयोगको सबै कागजहरु तयारी थिए र उसको प्रोसेसिङ्गको लागि हामीले एपलाई गर्‍यौ । बर्षातले हरेक दिन फोन म्यासेज गरी रहेको हुन्थियो , म घर बाट निस्कने बाटोमा यता उति हिडीरहेको मैले कौसी बाट धेरै चोटि देखेको थिए। तर मैले उसलाई सधैँ वास्ता नै गरिन ।उसले नै मलाई ऊ बिना बाच्न सिकाउने सुरुवात गरेको थियो ।

म अमेरिका फर्किने समय बिस्तारै घट्दै थियो। ईष्ट मित्र , आफन्त भेटघाट र हस्पिटल मै धेरै समय गएको थियो । पोखरा काकाकोमा पूजा भएको खबर आएको थियो हामी सबै जाने तयारीमा थियौ । भोलि जाने भनेर तयारीमा जुटेको महिनावारीले गर्दा मैले पूजामा जान नपाउने भए। मन मनै रिसाए त्यो बेला सबैलाई भेट्ने र रमाइलो गर्ने सपना त्यही बेला समाप्त भयो। बुवा आमा पोखरा गए पछि म दुई दिनको लागि घरमा एक्लै थिए। आमा बुवा गएको बेलुका घरको फोनमा आएको फोन मैले उठाए । परिचित आवाजले “हेल्लो” भन्यो । मैले बर्षातको आवाज छुटाई हाले।

“अ भन के पर्‍यो र फोन गर्‍यौ ? उसले एकदम शान्त हुँदै मेरो प्रश्नमा जवाफ फर्कायो ” तिमीलाई फोन गर्न पनि कारण चाहिन्छ र ? उसको त्यो आवाजले कता कता मेरो मन भकानियो र मैले फोन राखिदिए । उसले बारम्बार फोन गरी रहेको थियो मैले रिसिभर नै झिकेर बाहिर राख्दिए। उसलाई सबै तिर मैले ब्लक गरेकी थिए , त्यसैले लाग्यो अब उसले कतै पनि मलाई म्यासेज वा फोन गर्न सक्दैन। बेलुका करिब ९ बजेको थियो , याहु मेलमा नोटिफिकेसन आयो मेलको। बर्षातले लामो मेल सहित ऊ बाहिर बाटोमा कुरेर बसीरहको बतायो। मैले आफू आउन नसक्ने रिपलाई गरे । उसले जिद्दी गर्दै घर नै नजाने भन्यो । अत्ति गरे पछि मेरो घर मै बोलाए । ऊ मलिनो मुहार लिएर आयो । म तिर हेर्दै मुसुक्क देखावटी हासो देखायो ।ऊ मेरो कमजोरी थियो , उसलाई देख्ने बितिक्कै म पग्लिन्थिये । हरेक दिन तड्पी तड्पी रातहरु जाने गर्थिए। ऊ आँखा अगाडी थियो , उसलाई देख्ने बित्तिकै मेरा आँखा रसाए। ऊ नजिकै आएर मलाई अँगालोमा बाध्यो। सबै कुरा बिर्सिएर म फेरी उही उसकै सिमरन भए। आज पनि त्यो न्यानो अँगालो मिस हुन्छ यार !

त्यस रात हामीले दुवैको यो बिचमा भएका सबै घटनाहरू श्येर गर्‍यौ । ऊ त्यही घर मै बस्यो। त्यो पनि म जस्तै रुन्चे छ क्या कति रोयो। त्यस दिन पछि फेरी हामी नजिक भयौ । संयोगसंगको कुरा मैले उसलाई भनेको थिएन लुकाएको थिए । दिन प्रति दिन बर्षात र म नजिक हुँदै गयौ। फेरी उही घन्टौ गफ , म्यासेज कुराहरू हुन् थाले ।

म अमेरिका फर्किए पछि पनि ऊ नजिक थियो । मेरो त्यही पुरानो बर्षात भएको थियो । तर मलाई भने मनमा पिडा भएको थियो । मैले उसलाई संयोगसंगको कुरा लुकाएको थिए । बर्षातलाई राम्रो सँग यो कुरा बताउछु भनेर आट निकाले र संयोगसंगको सबै कुरा बताए । त्यो दिन त उसले इजिली लियो। दिन प्रति दिन म उसको मायामा डुबीरहको थिए अचानक एक दिन उसले मलाई ” तिम्रो र मेरो बिहे हुन सक्दैन ” भन्दै परिवारको कारण देखाउदै म्यासेज गर्‍यो । बिहानै त्यो म्यासेज पढे पछि म काम समेत गईन। उसले अन्तिम म्यासेजमा लेखेको थियो ” सिमरन प्रेम विवाह मात्र होइन , तिमी सधैँ प्रेमिका भएर मेरो मनमा बस्ने छेउ” ……. “। ऊ फेरी टाढा गयो अनि संयोग अमेरिका आई पुगेको थियो। संयोग आफन्तसंग बस्छ उसलाई मेरा सबै कुरा थाहा छ त्यसैले ऊ मलाई बारम्बार बिहेको प्रस्ताव राखिरहेको छ । तर यो मनमा आज पनि बर्षातले राज गरेको छ।

द लास्ट वर्ड भाग १