टिकापुर हत्याकाण्डको मुद्दा फिर्ता भन्ने समाचार मिथ्या भएको प्रधानमन्त्रीद्वारा पुष्टि - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

टिकापुर हत्याकाण्डको मुद्दा फिर्ता भन्ने समाचार मिथ्या भएको प्रधानमन्त्रीद्वारा पुष्टि



काठमाडौं जेष्ठ ५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नीजि सचिवालयले कैलालीको टिकापुर लगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ ।

बिहीबारको मन्त्रीपरिषद बैठकले तराई–मधेश आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयलाई लिएर सञ्चार माध्यमहरुमा आएका समाचारहरुबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीहरुको मुद्दा लिने सरकारी निर्णयसम्बन्धि प्रकाशित समाचारको खण्डन गरेको हो ।

मन्त्रीपरिषदको बैठकले टिकापुर लगायतका हत्याका घटनामा संलग्न नभएका तर आशंका र पूर्वाग्रहकै आधारमा झुट्टा मुद्दा लगाइएका व्यक्तिहरुका मुद्दा कानून बमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानून मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

बिहीबारको बैठकले तराई–मधेश आन्दोलनलाई राजनीतिक आन्दोलन ठहर गरेको थियो । दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण बनाउन सरकारले घटनामा असंलग्नहरुमाथि लगाएका झुट्टा मुद्दा कानून बमोजिम फिर्ताको प्रक्रिया थाल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री सचिवालयले दोस्रो चरणको निर्वाचन बाँकी नै रहेकाले संयमित भएर निर्वाचनको तयारीमा जुट्न समेत सबैमा अपील गरेको छ ।