भ्रष्टाचार गर्दै नगरेको सरकार यहि मात्र हो: टोपबहादुर रायमाझी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भ्रष्टाचार गर्दै नगरेको सरकार यहि मात्र हो: टोपबहादुर रायमाझी



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भ्रष्टाचार गर्दै नगरेको सरकार यहि मात्र भएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले प्रतिपक्षी दल नेपाली कांग्रेसले भनेजस्तो भ्रष्टाचार र व्यभिचार सरकार लिप्त नभएको बताए । कांग्रेसको उक्त आरोपमा कुनै सत्यता नभएको समेत उनको दावी छ ।

‘राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा सरकार अघि बढिरहेको छ । म दोहोर्याएर भन्न चाहन्छु प्रतिपक्षी दलले सरकारको व्यापक विरोध र गरेको आलोचनामा धेरै सत्यता छैन्,’ उनले भने ।

उनले सरकारले जुन स्तरमा काम गर्नुपर्थो त्यो भने हुन नसकेको स्वीकारेबा छन् । उनले भने,‘जनताले अपेक्षा गरेअनुसार काम भएको छैन, यो कुरा हामीले मनन गर्नुपर्छ । तर, सरकारले केही पनि गर्न सकेको छैन् । सबै बर्वाद नै भयो भन्ने आरोपमा कुनै सत्यता छैन् ।’

नेपालमा सबैभन्दा धेरै सरकारमा बस्ने पार्टी नेपाली कांग्रेस भएकोले उसले अहिलेको सरकारमाथि लगाएको आरोपमा कुनै दम नभएको पनि उनको भनाई छ । सरकार पछिल्लो समय भ्रष्टाचार निर्मुलीकरणको लागि अत्यन्तै कठोर रुपमा अघि बढिरहेको पनि रायमाझीको भनाई छ ।

रायमाझीले सरकारले सीमा विवादको लागि पहलकदमी अघि बढाउने र कुटनीतिज्ञहरु पनि परिचालन गर्ने सुनाए । उनले भने,‘सरकारले छिटोभन्दा छिटो यसको लागि पहल गर्छ । नेपालको एक ईन्चपनि भूमी छोड्दैन् । र कसैको पनि एक ईन्चपनि भूमि लिँदैन् ।’ सीमा विवादको समाधान अब दिर्घकालिन रुपमा हुनेपनि उनले विश्वास दिलाए ।

अहिले मुलुकको एकसूत्रीय एजेण्डा भनेको विकास र समृद्धि नै भएकोले सोहीअनुसार सरकार अघि बढिरहेको पनि उनले सुनाए । उनले भने,‘पूर्वाधार विकासमा अहिले कुनैपनि समस्या छैन् । बाटो, घाटो बनेका छन् । विद्युत उत्पादन भैरहेको छ । सिचाँईमा राम्रै प्रगति भैरहेको छ । रेलमार्ग, जलमार्गको पनि कुरा भैरहेको छ । पूर्वाधार विकासमा कुनै समस्या छैन् ।’

मुलुकमा अहिले गरिबी र बेरोजगारीको समस्या रहेकोले यसको अन्त्यको लागि सरकारले ठोस कदम चाल्नेपनि उनले स्पष्ट पारे । उनले भने,‘यसको लागि कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन जरुरी छ । विदेश पलायन भएकाहरुलाई पनि नेपालमै आमन्त्रण गर्नुपर्छ । गएकाहरुलाई फर्काउनुपर्छ । यो सम्भव छ ।’ लगानीको अहिले राम्रो वातावरण बनेको पनि उनको भनाई छ । उनले भने,‘अहिले वैदेशिक लगानीको धेरै राम्रो वातावरण बनेको छ ।’

फरक प्रसँगमा उनले सभामुखको चयन चाँडै हुनुपर्ने र सकेसम्म छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने बताए ।