बाइडेन–ह्यारिसले डोनाल्ड ट्रम्पको दोहोलो काडेपछि... - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बाइडेन–ह्यारिसले डोनाल्ड ट्रम्पको दोहोलो काडेपछि…



एजेन्सी- अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन तथा उनले उपराष्ट्रपति उम्मेदवारका रुपमा चुनेकी सिनेटर कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएका छन् ।

ट्रम्प असक्षम नेता रहेको र उनले अमेरिकालाई ‘धुजाधुजा’ पारेको उनीहरुले आरोप लगाएका छन् ।

बाइडेनले आफ्नो रनिङ्ग मेटका रुपमा ह्यारिसको नाम घोषणा गरेको भोलिपल्ट बुधबार दुईजनासँगै चुनावी अभियानमा सामेल भएका हुन् ।

राष्ट्रपति ट्रम्पले ह्यारिसको आक्रमणको प्रतिउत्तर दिँदै उनी आफू राष्ट्रपति उम्मेदवार बन्ने होडबाट ढुंगा जसरी तल खसेको बताए ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् ।

डेलवरको विल्मिङ्गटनमा भएको चुनावीसभा (कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणका लागि खुला नगरिएको) मा दुवै उम्मेदवार मास्क लगाएर स्टेजमा आएका थिए । उनीहरुले सामाजिक दूरी कायम गरेर उपस्थित भएका पत्रकारहरुलाई सम्बोधन गरे ।

समाचार संस्था रोयटर्सका अनुसार हल्का पानी परेको कार्यक्रम स्थलको बाहिर झण्डै ७५ जना उपस्थित भएको र त्यसमध्ये केही बाइडेनका आलोचक थिए ।

बाइडेनले सम्बोधनको क्रममा क्यालिफोर्नियाकी सिनेटर ह्यारिस अमेरिकाको प्रमुख पार्टीका तर्फबाट राष्ट्रपति चुनावमा रनिङ्ग मेटका रुपमा प्रस्तुत हुने पहिलो अश्वेत महिला रहेको बताए ।

बाइडेनले भने, ‘आउँदो नोभेम्बरमा हामीले गर्ने छनौटले अमेरिकाको भविष्य धेरै लामो समयसम्मका लागि निर्धारण गर्ने छ । डोनाल्ड ट्रम्पले कमला ह्यारिसमाथि आक्रमण गर्न थालिसके । विभिन्न असभ्य नामहरु दिन थालेका छन् । यो कुराले आश्चर्यमा पारेको छैन किनकी गुनासो नै त्यो चिज हो, जसमा ट्रम्प उत्कृष्ट छन् । अमेरिकाको इतिहासमा गुनासोमा सबैभन्दा पोख्त भएका राष्ट्रपति हुन् ट्रम्प ।’

बाइडेनले भने, ‘के कसैलाई आश्चर्य लाग्यो र कि ट्रम्पलाई शक्तिशाली महिलासँग समस्या देख्दा?’

बाइडेनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पले गरेको कमजोर प्रयासको पनि आलोचना गरे ।

बाइडेनपछि पोडियममा आएकी ह्यारिसले आफू काम गर्नका लागि तयार रहेको बताइन्।

५५ वर्षकी ह्यारिसले पत्रकारलाई भनिन्, ‘अमेरिकाका लागि वास्तविक रुपमा प्रभाव पार्ने समय हो यो । हामीलाई चासो भएका सबै कुराहरु–हाम्रो अर्थतन्त्र, हाम्रो स्वास्थ्य, हाम्रा बालबालिका, कस्तो देशमा हामी रहन चाहन्छौँ भन्ने सबै कुरा लाइनमा छन् ।’

उनले भनिन्, ‘बाराक ओबामा र जो बाइडेनले तयार पारेको अर्थतन्त्रको बलियो आधारमा ट्रम्पले शासन सुर गरे । तर अहिले अवस्था स्पष्ट छ । राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न योग्न नै नरहेको व्यक्तिलाई निर्वाचित गर्दाको परिणाम हो यो ।