ट्रम्पलाई अर्को झट्का - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ट्रम्पलाई अर्को झट्का



काठमाडौं- निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि कानुनी विकल्पमा गएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकैदिन हारको ह्याट्रिकको सामना गर्नुपरेको छ । एरिजोना र पेन्सलभेनियामा राज्य स्तरका न्यायाधीशले र जर्जियामा संघीय न्यायाधीशले ट्रम्पको निर्वाचन अभियान र रिपब्लिकन पार्टीका तर्फबाट दायर निर्वाचनसम्बन्धी मुद्दा बिहीबार खारेज गरिदिएका छन् ।

सीएनएनको रिपोर्टअनुसार यो ह्याट्रिक हार जो बाइडेनलाई इलेक्टोरल कलेजले अर्को राष्ट्रपतिको रुपमा प्रमाणीकरण गर्नुभन्दा पहिले उनको जीत रोक्न रिपब्लिकन र ट्रम्पले गरिरहेका प्रयासमा भइरहेको पराजयको पछिल्लो श्रृंखला हो ।

यतिसम्म कि जर्जियामा ट्रम्पको पक्षबाट दायर मुद्दा खारेज गरिदिने न्यायाधीश ट्रम्पले नै नियुक्त गरेका हुन् तर उनले रिपब्लिकनको प्रयासलाई अस्वीकार गर्दै यो प्रयासलाई हडतालजस्तो भनेका छन् । एरिजोनामा राज्य न्यायाधीशले भोटको पुनः परीक्षण र परिणाम घोषणा रोक्न अस्वीकार गर्दै यो मुद्दा फेरि दायर गर्न ल्याउन सकेत नसकिने बताए ।

पेन्सलभेनियामा न्यायाधीशले ट्रम्प अभियानले गणना नगर्न माग गरिरहेको २ हजारभन्दा बढी मतपत्र पनि गणना गर्न आदेश दिएका छन् ।

अदालतका यी तीनवटै आदेशहरु केही घण्टाको अन्तरमा आएका थिए । पछिल्लो समय ट्रम्पले रोजेका कानुनी विकल्पमा लगातार पराजय व्यहोरिरहेका छन् । यसअघि गत शुक्रबार ट्रम्प र उनका सहयोगीहरुले दायर गरेका ९ मुद्दाहरु केही खारेज गरिएका थिए भने केही फिर्ता लिइएका थिए । यो हप्ताको सुरुमा पनि ट्रम्प समर्थकहरुले ४ वटा मुद्दा फिर्ता लिएका थिए ।

ट्रम्प पक्षधरहरुले अझै कानुनी लडाइ जारी राख्नुपर्ने बताइरहँदा अब बाइडेनलाई इलेक्टोरल कलेजबाट राष्ट्रपति बन्न रोक्ने कुनै कानुनी बाटो सम्भवतः बाँकी छैन । कानुनी विश्लेषकहरुले निर्वाचन परिणाम परिवर्तन गर्न गरेको प्रयास सबै विफल भएको बताएका छन् ।