माओवादीमा प्रवेश गरेकै दिन उम्मेदवार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माओवादीमा प्रवेश गरेकै दिन उम्मेदवार



काठमाडौं,२२ भदौ । 

माओवादीले अरू दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिई प्रदेश नं. २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट दिइएको छ । माओवादीले ११ तहमा नवप्रवेशी उम्मेदवार बनाएको हो । माओवादीले कांग्रेस, एमाले, राजपालगायत मधेसकेन्द्रित दलबाट पार्टी प्रवेश गरेकालाई उम्मेदवार बनाएको छ ।

प्रवेश गरेकै दिन उम्मेदवार बनेका तीन नेता

बुधबार उम्मेदवारी दर्ता गर्नुभन्दा केही घन्टाअघि प्रवेश गरेका तीनजनालाई माओवादीले उम्मेदवार बनाएको छ । कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिएको छ ।

पछिल्लो एक महिनामा प्रवेश गरेर टिकट पाउने ८ नेता
माओवादीले एक महिनायता पार्टी प्रवेश गर्ने आठजनालाई उम्मेदवार बनाएको छ । सद्भावना पार्टीबाट प्रवेश गरेका अनिस अन्सारीलाई सप्तरीको राजविराज नगरपालिकाको मेयरमा टिकट दिएको छ । एमालेबाट प्रवेश गरेका राजनारायण चौधरी महोत्तरीको भङगाह नगरपालिकाको मेयरमा, राजपाबाट प्रवेश गरेका शेख मोत्तिनलाई बाराको सिमरौनगढ नगरपालिकाको मेयरमा, कांग्रेसबाट प्रवेश गरेका इस्लाम अन्सारीलाई आदर्शकोतवाल गाउँपालिकाको अध्यक्षमा टिकट दिएको छ । राजपाबाट प्रवेश गरेका चेतनारायण महतोलाई सर्लाहीको बगरगन्ज गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाटै माओवादीमा प्रवेश गरेका रामबाबु साहले सर्लाहीको हरपरुवा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट प्रवेश गरेका खड्कनारायण चौधरीले पनि सिरहाको लहान नगरपालिकाको मेयरको टिकट पाएका छन् । एमालेबाटै प्रवेश गरेका ठक्कु महतोले अर्नमा गाउँपालिकाको अध्यक्षको टिकट पाएका छन् ।

दुई तहमा मात्र तालमेल
माओवादी र कांग्रेसबीच दुई तहमा मात्र तालमेल भएको छ । दुई पार्टीबीच धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्र तालमेल भएको हो । प्रदेश नं. २ का १ सय ३४ तहमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने प्रदेश नं. २ का संयोजक विश्वनाथ साहले बताए । माओवादीले कांग्रेस, राजपा र संघीय फोरमसँग तालमेल गरेर निर्वाचनमा जाने बताउँदै आएको थियो । तर, माओवादीले काग्रेससँग मात्र तालमेल गरेको छ । सैद्धान्तिक रूपमा पार्टीले गरेको निर्णय नेताले नमान्ने अवस्था आएपछि तालमेल गर्न धेरै गाह्रो भएको साहले बताए । ‘कतिपय तहमा पार्टीले पहिलै उम्मेदवार घोषणा गरिसकेको थियो,’ साहले नयाँ पत्रिकासँग भने, ‘पछि उम्मेदवार फिर्ता गरी तालमेल गराउन गाह्रो भयो ।’ नयाँ पत्रिकाबाट ।