उपाध्यायको राजनीतिमा फर्किने धोको अपुरा ,अन्ततः पाएनन् टिकट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उपाध्यायको राजनीतिमा फर्किने धोको अपुरा ,अन्ततः पाएनन् टिकट



काठमाडौँ /कात्तिक ३ 

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजनीतिमा फर्किने धोको पुरा नहुने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गर्दै राजदूत पदबाट राजीनामा दिएका उपाध्यायलाई पार्टी नेतृत्वले टिकट नदिने भएपछि उनको धोको पूरा नहुने भएको हो।

पार्टीको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुको चयनका लागि बसेको कांग्रेस संसदीय समिति बैठकमा उपाध्यायको पक्षमा कुनै पनि नेताले नबोलेपछि उनको टिकट पाउने सम्भावना करिब करिब टरेको हो।

संसदीय समितिका एक सदस्यले दिएको जानकारी अनुसार, दुई दिन अगाडि बसेको समितिको बैठकमा उपाध्यायको विषयमा चर्चा चलेपछि समितिका अधिकांश सदस्यहरुले उपाध्यायलाई टिकट दिन नहुने सुझाव दिएका थिए।

कतिपय सदस्यहरुले अहिले नै राजनीतिमा फर्किने सोच थियो भने गतवर्ष एमाले नेतृत्वको सरकारले फिर्ता बोलाएकै देश भारतका लागि राजदूतमा पुनः किन गएको भन्ने प्रश्न समेत गरेका थिए। केही सदस्यहरुले अघिल्लो चुनावमा आपसी विवादका कारण बिद्रोह गर्दै उम्मेदवार बनेर चुनाव जितेका स्वतन्त्र सांसद अतहर कमाल मुसलमानलाई टिकट नदिएर उपाध्यायलाई दिनु अर्को गल्ति हुने धारणा राखेका थिए।

त्यसपछि संसदीय समितिको बैठककै बीचमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यायलाई अहिलेको परिस्थितिमा भारतका लागि राजदूत पदबाट राजीनामा नगरी त्यहि बसेर काम गर्न आग्रह गरेको बुझिएको छ ।

निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका उपाध्यायले केही समय अगाडि राजदूत पदबाट राजीनामा गर्दै आफ्नो राजीनामा पत्र तत्कालिन परराष्ट्रमन्त्री कृष्ण्बहादुर महरालाई बुझाएका थिए। तर संसदीय समितिमा आएको सुझावपछि सभापति तथा प्रधानमन्त्री देउवाले उनको राजीनामा स्वीकृत नभएको भन्दै उनलाई टिकट दिन नसक्ने जानकारी फोनमार्फत उपाध्यायलाई दिएको कांग्रेस स्रोतले बतायो।

कांग्रेसको राजनीतिमा सक्रिय उपाध्याय २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएपछि तत्कालिन पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई मनाएर भारतको लागि नेपाली राजदूतमा नियुक्त भएका थिए।

नयाँ संविधानको विषयमा नेपाल र भारतबीचको सम्बन्धमा चिसो पस्दै अघोषित नाकाबन्दी लागेपछि एमाले नेतृत्वको सरकारले उनलाई डेढ वर्ष अगाडि फिर्ता बोलाएको थियो। तर कांग्रेस र माओवादी गठबन्धनको सरकार बनेपछि उपाध्यायले कूटनीतिक अभ्यास र चलन विपरित पुनः भारतका लागि नेपाली राजदूत बनाएर पठाइदिन सभापति देउवालाई मनाउँदै राजदूतको नियुक्ति लिएका थिए।