बेरोजगार हुनुहुन्छ ? सरकारी ‘वेबसाइट’मै छ जागिर ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बेरोजगार हुनुहुन्छ ? सरकारी ‘वेबसाइट’मै छ जागिर !



काठमाडौं, भदौ १० ।

 के तपाई बेरोजगार हुनुहुन्छ, त्यस्तो हो भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको
अवसर सरकारी वेबसाइटमै गएर खोज्न सक्नुहुन्छ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा आजदेखि सो वेबसाइट(www.jobkhoj.gov.np) सन्चालनमा ल्याएको हो ।

निजी क्षेत्रबाट रोजगारीसम्बन्धी विभिन्न वेबसाइट सन्चालनमा रहेपनि सरकारीस्तरबाट निजी क्षेत्रको रोजगारीलाई केन्द्रमा राख्दै खोलिएको पहिलो वेबसाइट हो ।

श्रम मन्त्रालयअन्तर्गत देशका १४ ठाउँमा रहेका रोजगार सूचना केन्द्रले समेत यसका लागि सहजकर्ताको भूमिका खेल्नेछ ।

वेबसाइटमा बिभिन्न पदहरुमा कामका लागि मागसहितको विवरण राखिएको हुन्छ, त्यो हेरेर आफूलाई उपयुक्त पदमा आवेदन दिन सकिनेछ ।

रोजगारको खोजीमा रहेकाहरुले आफूले चाहेको काम, सिकेको सीप, शैक्षिक योग्यतालगायतका विवरणसहितको व्यक्तिगत विवरण पठाउन सक्नेछन् ।

त्यस्तै, रोजगारदाताले आफूले चाहेको कामदार, पदलगायतका विवरण पठाउन सक्नेछ ।

श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले आज एक कार्यक्रमबीच सो वेबसाइटको शुभारम्भ गर्दै यसले रोजगारदाता र रोजगारी खोज्नेहरुका लागि समन्वयको काम गर्ने विश्वास व्यक्त गरे ।

उनले विविध क्षेत्रमा नेपालभित्रै रोजगारीको अवसर रहेपनि विदेशिनै पर्छ भन्ने मानसिकताले समस्या ल्याएको टिप्पणी गरे ।

सरकारले सातै प्रदेशमा सीपमूलक तालीम दिने तयारी सुरु गरिसकेकोले यसले रोजगारीको अवसर सिर्जना गर्ने उनको भनाई छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वेबसाइटमार्फत बढीभन्दा बढी रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुले सेवा पाउन भन्ने आफूहरुको ध्येय रहेको बताउँदै आवश्यकताअनुसार वेबसाइटको परिमार्जन गरिने बताए ।

‘आइएलओ’ नेपालका देशीय निर्देशक रिचार्ड हवार्डले वेबसाइटले रोजगारीको अवसर र सूचना देशभर पुर्‍याउने तथा निजी क्षेत्र र कामदारका लागि पुलको काम गर्ने आशा व्यक्त गरे ।

कार्यक्रममा रोजगारदाता र मजदुर संगठनका प्रतिनिधिहरुले वेबसाइट सन्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरता र प्रभावकारितामा ध्यान दिन सुझाव दिएका छन् । रासस