युट्युब च्यानलहरूलाई खोजीखोजी कारबाही गर्दै सरकार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

युट्युब च्यानलहरूलाई खोजीखोजी कारबाही गर्दै सरकार



काठमाडौं- युट्युब च्यानलहरूले बिकृति फैलाएको आरोप लागिरहेका बेला सरकारले नियमन गर्ने घोषणा गरेको छ ।

युट्युब च्यानलहरूमा देखाइने सामाग्रीहरूलाई नियमन र अनुगमन गर्ने गरेर विधेयक ल्याउन लागेको सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् । कानून र करको दायराभित्र रहेर युट्युबहरू चल्नुपर्ने चेतावनी दिए ।

‘युट्युबमा छाडा विषयवस्तु र सामाग्रीहरू राख्ने गरिएको छ । यसलाई नियमन गर्ने नै हो’, उनले भने, ‘अर्को आमसञ्चार विधेयक आउँछ । त्यसले युट्युबहरूलाई कानून र नियमभित्र राख्छ ।’

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा सरकारका प्रवक्ता बास्कोटाले युट्युबहरूलाई दर्ता गरेर मात्रै चलाउन पाउने बताए ।

‘युट्युबहरू दर्ता भएर कम्पनीका रुपमा आउनुपर्छ । उनीहरूका लागि कानून आउँदै छ’, उनले भने, ‘समाजलाई बिथोल्ने गरेर आउन पाइँदैन । युट्युबहरूले कर तिर्नुपर्छ । कर प्रणालीभित्र आउनुपर्छ ।’

मन्त्री बास्कोटाले सामाजिक सञ्जालबाट करोडौँ रुपियाँ विदेशिने गरेको बताए । ‘बुस्ट गरेर नेपालको पैसा विदेश पठाउने गरिएको छ’, उनले भने, ‘यो कार्यलाई नियन्त्रण गर्नै पर्छ ।’

मन्त्री बास्कोटाले पत्रकारहरूलाई आफ्नो दायराभित्र बस्न चेतावनी दिएका छन् । उनले भट्टी पसलमा बसेर पत्रकारको कार्ड देखाउने र ब्ल्याकमेलिङ गर्ने छुट कसैलाई पनि नरहेको बताए ।

‘गलत कार्य र समाचार लेख्ने पत्रकारहरू जेल जानुपर्छ’, उनले भने, ‘पत्रकारले दण्डजरिवाना पाउनुपर्छ । कानून र संविधानभन्दा माथि पत्रकार होइन ।’

‘देशलाई भीडबाट चलाउने कुरा हुँदैन लोकतन्त्रमा’, मन्त्री बास्कोटाले भनेका छन्, ‘टेलिभिजनहरूका लागि विदेशी विज्ञापन नबजाउनेसम्बन्धी क्लीन फिड विधेयक पारित भएको छ । यो नमानेर के गर्नु ? मान्नै पर्छ ।’

नेपाल पत्रकार महासंघ आमसञ्चार विधेयकका विषयमा बहकाउमा लागेको आरोप मन्त्री बास्कोटाले लगाएका छन् । ‘आमसञ्चार विधेयकका विषयमा मैले नगरेकै कुरा भनियो’, उनले भने ।

पत्रकारको परिचय पत्र लाइसेन्सवाला ठेकेदारले पनि बोक्ने गरेको उनले बताए । ‘लाइसेन्सवाला ठेकेदार पक्राउ पर्दा पत्रकारको कार्ड पनि छ भनेर प्रेस स्वतन्त्रता हनन् भयो भन्न पाइँदैन’, मन्त्री बास्कोटाले बताए ।

सरकारका प्रवक्ता बास्कोटाले जथाभावी बोलेर गणतन्त्रको विरोध गर्न नपाइने चेतावनी दिएका छन् । ‘गणतन्त्रको विरोध गर्न पाइँदैन । जनताले लडेर ल्याएको हो’, उनले भने, ‘जथाभावी बोलेर हिँड्न छुट दिइँदैन । बोल्ने कुरा पत्रकारिता होइन । टेलिभिजनको पर्दामा बसेर जथाभावी बोल्ने काम पनि अभिव्यक्ति स्वतन्त्रता होइन ।’

मन्त्री बास्कोटाले पत्रकारहरूलाई बेलायत, फ्रान्ससहितका देशमा करोडौँ रुपियाँ जरिवानाको व्यवस्था रहेको बताए । ‘पत्रकारलाई बेलायतमा दुई करोड ८० लाख जरिवाना छ । फन्समा ५० हजार युरो जरिवाना हुन्छ’, उनले भने, ‘यहाँ पनि पत्रकारलाई जरिवाना हुनुपर्छ । गलत गर्नेलाई छुट दिनु हुँदैन ।’

सरकारका प्रवक्ता बास्कोटाले प्रधानमन्त्री केपी ओलीको ट्वीटर ह्याण्डल अरुले चलाउने गरेको बताएका छन् । ‘प्रधानमन्त्री आफूले ट्वीटर ह्याण्डल चलाउनु हुँदैन’, उनले भने, ‘अरुले चलाउँछन् । भिडियो कन्फ्रेन्सबाट क्याबिनेट बसेको बारेमा गलत भनिएको थियो ।’