यौन दुर्व्यवहारमा फसेका युवराज, झलनाथको जोडबलमा बने निगमको अध्यक्ष - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

यौन दुर्व्यवहारमा फसेका युवराज, झलनाथको जोडबलमा बने निगमको अध्यक्ष



काठमाडौँ- मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । विवादित छबीका अधिकारी निगमका अवकासप्राप्त कर्मचारी हुन् । उनले ३४ वर्ष काम गरेर डेढ वर्षअघि अनिवार्य अवकाशबाट बिदा भएको पाइएको छ ।

उनलाई एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सिफारिस गरेको पाइएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकपछि उनी आफैले आफूलाई ४ वर्षका लागि झलनाथ खनालसहितको सहयोगमा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको बताए । उनले विगतको घटना त्यतिबेलै मिलिसकेको र अब आफूले त्यसबेला उजुरी गर्ने हस्ताक्षर संकलन गर्ने कुनै पनि कर्मचारीलाई भेदभाव नगर्ने प्रतिक्रिया दिए ।

‘सरकारले मेरो आवश्यकता महसुस गरेर नियुक्त गरेको हो । म पार्टीको कार्यकर्ता होइन । कुनै आर्थिक सहयोग गर्ने बाचा पनि गरेको छैन,’ अधिकारीले भने, ‘म निगममा केही गरौं भनेर आएको छु । तपाईंहरुसँग बसेर सरसल्लाह गर्छु । सहयोग गर्नुपर्छ ।’

विवादित छबी:

युवराज अधिकारी विवादित छवीका व्यक्ति हुन् । वायु सेवा निगमकै महिला कर्मचारीलाई यौन दुर्ब्यबहार गरेको आरोप उनीमाथि लागेको थियो । ०७४ सालमा अधिकारी निगमको अर्थ विभाग प्रमुख थिए त्यतिबेला दुई जना महिला अधिकृतलेआफूहरुलाई यौन हिंसा गरेको भन्दै उनीविरुद्ध उजुरी दिएका थिए । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

ती दुई महिलाले तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित प्रधानमन्त्री कार्यालय, महिला आयोगमा उजुरी गरेका थिए । निगमले त्यसबेला गरेको आन्तरिक छानबिनको सुझावका आधारमा उनलाई निलम्बन गरिएको थियो । निगमका तत्कालीन महाप्रबन्धक कंसाकारका अनुसार अधिकारीले महिलाहरुको उजुरी सार्वजनिक नगर्न पत्नीसहित कार्यकक्षमै रुवाबासी गरेपछि ट्रेड युनियन, तत्कालीन मानव संशाधन विभाग प्रमुख र पीडित पक्षलाई राखेर ०७४ कात्तिकमा मिलापत्र गराएका थिए । अधिकारीले माफी मागेपछि मिलापत्र भएको थियो ।

निगमको सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले जेठ २८ मा राजीनामा दिएपछि अध्यक्ष पद खाली थियो । निगमको कार्यकारी प्रमुखमा डिमप्रसाद पौडेल थिए । कार्यकारी अध्यक्षमा अधिकारी आएसँगै महाप्रबन्धक पौडेलको जिम्मेवारी खुम्चिएको छ । कार्यकारी अध्यक्षसँग निगमको सञ्चालक समितिदेखि व्यवस्थापनसम्बन्धी सबै निर्णय गर्ने अधिकार हुन्छ । अधिकारीको नियुक्तिप्रति निगमका निर्देशक तथा कर्मचारीहरुले आश्चर्य प्रकट गरेका छन् ।

निगम अहिले करिव ५० अर्ब ऋणमा छ । संस्था धराशायी भएको अवस्थामा सरकारले भने विवादित मान्छे खोजी–खोजी नियुक्ति गरेको छ ।