अब युवाहरु विदेश जानु पर्दैन, सरकार युवाको साथमा छ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब युवाहरु विदेश जानु पर्दैन, सरकार युवाको साथमा छ: प्रधानमन्त्री ओली



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने बताएका छन् ।

‘हाल २६ लाख युवा रोजगारी खोज्दै मुलुकबाहिर गएका छन् । ३ करोडभन्दा केही कम जनसंख्या भएको देशमा देश निर्माण गर्नुपर्ने २६ लाख जनशक्ति बाहिर जानु अवश्य नै खुसीको कुरा होइन । त्यसकारण यस दिशामा हामीले ठोस प्रयासहरू गरिरहेका छौं । हामी केही वर्षभित्रै रोजगारीका लागि, छनोटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो,’ उनले भने, ‘बाध्यताको हिसाबले बाहिर जाने कुराको अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ । म युवाहरूलाई आश्वस्त पार्न चाहन्छु कि, तपाईंहरू अगाडि बढ्नुस् । सरकार तपाईंहरूको साथमा छ ।’

युवाहरूको अभिभावकत्व, साथ–सहयोग, अवसर उपलब्ध गराउन सरकार दत्तचित्त रहेको भन्दै प्रधानमन्त्रीले सामाजिक जागरण र नीति–निर्माणका क्षेत्रमा सबैको समानुपातिक प्रतिनिधित्व रहेको भन्दै खुसी व्यक्त गरे ।

‘बालबालिकाको नीति निर्माणमा सहभागिता हुने भएन । उत्पादनमा सहभागिता हुने भएन । उनीहरू भविष्यका कर्णाधार हुन् । उनीहरूलाई सक्षम बनाउनुपर्छ । सुरक्षामा ध्यान दिनुपर्छ । युवाहरूको सन्दर्भमा, ४० प्रतिशत युवा स्थानीय तह प्रतिनिधित्व गरिरहेका छन् । त्योभन्दा केही सानो संख्या संघीय तहमा र प्रदेश तहमा छन् । त्योभन्दा केही संख्या केन्द्रीय निकायमा छन् । अझ बढाउन जरुरी छ । बढाउँदा सन्तुलनकारी ढङ्गले नै बढाउनुपर्छ । पुरानो र नयाँ पुस्ता मिलेर नै क्षमता, अनुभव र सामर्थ्य, सबै चिजको सम्पूर्णरूपमा प्रयोग गरेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपाल प्राकृति सम्पदा, स्रोत–सामर्थ्यका हिसाबले अद्भूत र जीवनमय रहेको बताउँदै पछाडि रहन, गरिब हुन मिल्ने देश नै नभएको बताए ।

‘म चाहन्छु हाम्रा देशका युवाहरूले रोजगारीको खोजी गर्दै या जीवनको खोजी गर्दै अन्यत्र जानु नपरोस् । हाम्रोजस्तो देश, जो विद्वान् र बहादुर पुस्ताका सन्तान भएको देश हो । जुन देश प्राकृतिक हिसाबले अत्यन्त सुन्दर छ । जुन देश अत्यन्तै उर्वर छ । अत्यन्तै अद्भुत, असाधारण र जीवनमय छ । विविधताले युक्त र प्राकृतिक सम्पदाले सम्पन्न छ । त्यो देश पछाडि पर्न, गरिब हुन मिल्ने देश होइन यो विडम्बना हो ।

जुन कुरा आगामी दिनका लागि हामीलाई मान्य छैन । स्वीकार्य छैन । तर, मान्य छैन, स्वीकार्य छैन भनेर हामी बिनाप्रयास बस्यौं भने स्वीकार्न बाध्य हुनेछौं । त्यसकारण हामी हाम्रो अस्वीकार्यलाई व्यवहारद्वारा त्यसस्थितिमा पुर्‍याउनुपर्छ । यसका निम्ति सरकार रोजगारीका अवसर देशभित्रै सिर्जना गर्ने, युवाहरूको ज्ञान र क्षमता देशभित्रै प्रयोग हुने अवस्था सिर्जना गर्छौं,’ उनले भने ।