माओवादीमा मन्त्री छान्न सकस, किन भयो विवाद ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माओवादीमा मन्त्री छान्न सकस, किन भयो विवाद ?



काठमाडौँ २८ साउन –सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रलाई आफ्नो भागमा परेका मन्त्रालयमा पठाउने मन्त्री छान्न हम्मे परेको छ । मन्त्री बन्ने आकांक्षी धेरै र नेताहरूले मन्त्रालयमा मोलतोल गरेका कारण उसले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्री छान्न नसकेको हो ।

communist_nepalमन्त्री छान्न शुक्रवार बिहान बसेको केन्द्रीय कार्यालयको बैठकपनि निश्कर्षहीन भएको छ । विवादका कारण यसअघि माओवादीले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

समानुपातिक समावेशी सिद्धान्तका आधारमा मन्त्री छनौट गर्नुपर्ने भन्दै माओवादीमा विवाद भएको हो । सम्भावित मन्त्रीको सूचीमा एकजना पनि महिलाको नाम नपरेको भन्दै विरोध भएपछि माओवादीले एकजना महिलालाई सरकारमा लैजाने तयार गरेको छ ।

यसकालागि साना दलका लागि भनेर छुट्टाइएको थप एक मन्त्रालय माओवादीले लिने सम्भावना रहेको माओवादी स्रोतले बतायो । महिलाका तर्फबाट अनिताकुमारी परियार वा सीता नेपाली मन्त्री बन्ने सम्भावना बलियो छ । संविधानसभाका दुइवटै निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जितेका सल्यानका टेकबहादुर बस्नेतलाई मन्त्री अवसर दिनुपर्ने आवाज माओवादीमा उठेको छ । दुवै चुनावमा जितेर पनि अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीमा उनीमात्रै हुन् ।

प्रभुको अडान कायमै

मन्त्रीलय बाडफाँडमा सबैभन्दा विवाद प्रभु साहलाई कुल मन्त्रालय दिने भन्नेमा देखिएको छ । कानुन मन्त्रालयमा प्रस्ताव गरिएका प्रभुले त्योभन्दा संसदीय समितिको सभापति नै बस्छु भनेपनि मन्त्रालय मिलाउन कठिन भएको हो ।

सरकारले स्थानीय तहको निर्वाचन गर्नेभए सरकारसँग असन्तुष्ट रहेको मधेसमा आफूले सन्तुलन मिलाउने भन्दै उनले स्थानीय विकास मन्त्रालयमा दाबी गरेका हुन् । यसअघि स्थानीय विकासमा प्रस्तावित हितराज पाण्डेलाई कानुन मन्त्रालयमा पठाएर साहलाई स्थानीय मन्त्रालय दिने सम्भावना रहेको स्रोतले बतायो ।
पार्टीभित्र विवाद मिल्न नसक्दा प्रधानमन्त्री निर्वाचित भएको नौ दिन वितिसक्दा समेत प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डलालाई पूर्णता दिन सकेका छैनन् ।

आयोजक समितिको बैठक गर्ने

यसैबिच माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले भदौं ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ ।
शुक्रवार बिहान लाजिम्पाटमा बसेको नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको बैठकले ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको हो ।

बैठकमा नेताहरूले स्थानीय तह पूनर्संरचनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न थप छलफल गर्नुपर्ने आवश्यकता औल्याएका प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

 

source:lokantar