अब एयरपोर्टमा खोप कार्ड र रिपोर्ट नचाहिने, मास्क पनि लगाउन नपर्ने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

अब एयरपोर्टमा खोप कार्ड र रिपोर्ट नचाहिने, मास्क पनि लगाउन नपर्ने



कोभिड १९ महामारीपछि एयरपोर्टमा खोप कार्ड र परीक्षण रिपोर्ट नचाहिने भएको छ । अब अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड पनि देखाउनुपर्ने छैन ।

सरकारले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको जानकारी दिए ।

यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए ।

उनका अनुसार अब अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड पनि देखाउनुपर्ने छैन । मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड-१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ परीक्षण र कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।

मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा. चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।