आजबाट एसईई परीक्षा,पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आजबाट एसईई परीक्षा,पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने



भक्तपुर, चैत ३ गते ।

एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) बिहीबारबाट सुरु हुँदैछ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् ।  परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ ।  परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ ।

विगतका वर्षमा एसएलसी परीक्षाका रूपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पु¥याइसकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो ।
परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् ।  परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ ।

प्रश्नपत्र निजी विद्यालयले खोसेर लगे

ललितपुर ।  परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्न नपाइने भन्दै १५ वटा निजी विद्यालयका सञ्चालकहरूले कक्षा ८ को वार्षिक परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका खोसेर लगेका छन् ।  पाटनढोकास्थित पाटन माध्यमिक विद्यालय स्रोतकेन्द्रमा राखिएका प्रश्नपत्र र उत्तरपुस्तिका उनीहरूले खोसेर लग्नुका साथै आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका समेत आफैले राखेका छन् ।
निजी विद्यालयहरूले आफ्ना विद्यार्थीहरूबाट परीक्षाका नाममा जथाभावी शुल्क उठाएका थिए ।  परीक्षा केन्द्र आफ्नै विद्यालयमा राख्दा र आफ्नै शिक्षकहरूबाट उत्तरपुस्तिका परीक्षण गराउँदा उठाइएको शुल्क आफैले गुटमुटयाउ पाइने नियतका कारण उनीहरूले सुरुदेखि नै परीक्षा केन्द्र कायम गर्ने कुराप्रति सहमति जनाउँदै आएका थिए ।

बुधबारबाट सुरु भएको परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषय सञ्चालन भएको थियो ।  अपरान्ह साढे १२ बजेबाट परीक्षा हुने भनिएकोमा एक घण्टाअगावै विद्यालय सञ्चालकहरूले प्रश्नपत्र र उत्तरपुस्तिका लिएर गएका थिए ।  पाटन माविका स्रोतव्यक्ति सत्यनारायण महर्जनले आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गर्न आफूले अनुमति दिन नसक्ने र त्यसका लागि जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर ल्याउनुपर्ने बताएको भन्दै थप्नुभयो, “तर उहाँहरूले आफूखुशी लिएर जानुभयो । ”
स्रोतकेन्द्र नेसनल चिल्ड्रेन स्कुल, माइलस्टोन स्कुल, विद्यासदन स्कुल, सुपरभिजन स्कुल, भासरा स्कुल, इटेनगार्डेन स्कुल, शुभकामना स्कुल लगायत विद्यालयका सञ्चालकहरूले प्रश्नपत्र तथा उत्तरपुस्तिका लिएर गएका थिए ।  अन्य विषयका प्रश्नपत्र सोही स्रोतकेन्द्रमै सुरक्षित छ ।  जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले यसरी विद्यालयले मनपरी गर्न नपाइने भन्दै बिहीबार बिहान सम्बन्धित सबैलाई बोलाइएको र छलफलपछि कारवाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।