मैले गरेको त्याग सुविधा र पदको लागि थिएन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मैले गरेको त्याग सुविधा र पदको लागि थिएन



कुनै समय नेपालमा गणतन्त्र आउँछ भन्ने गथ्र्यौं। त्यही ढंगले हामीले संगठन निर्माण गरिरहँदा जनातको बीचमा जाँदा त्यो हौसला प्रदान गथ्र्यौं– सधैंभरि यस्तो स्थितिमा रहनुपर्दैन, हाम्रो देश एक दिन परिवर्तन हुन्छ। गरीबहरूले पनि शासन व्यवस्थामा परिवर्तन ल्याउने स्थिति बन्छ र निमुखाहरूले पनि न्याय पाउने समय आउँछ। 

विगतको त्याग, लडाइँले गर्दा आज हामीले गर्व गर्न पाएका छौं। यो अत्यन्त खुशीको कुरा हो। हामी सामान्य नागरिक होइनौं, सार्वभौम नेपाली नागरिक हौं। 

यत्रो राजनीतिक परिवर्तन चाहिँ हामीले हाम्रै पालामा देख्न, सुन्न र भोग्न पायौं। संवैधानिक लोकतान्त्रिक गणतन्त्र लागू गर्ने क्रममा संविधानलाई ‘राम्रो संविधान हाम्रो संविधान’ बनाउने क्रममा छौं। आज हामी प्रदेश सभामा छौं। गौरव गरिराखेका छौं। प्रदेश सभाको नयाँ अनुभव हामीले ग्रहण गरिराखेका छौं। योभन्दा अगाडिका पुस्तालाई प्रदेश सभा के हो भन्ने थाहा थिएन।

आज हामी प्रदेश सभाको पहिलो संसदको हिसाबले गर्व गर्न लागिरहेका छौं। हाम्रो अनुभवको पाटो बनेको छ प्रदेश सभा। त्यसको अनुभव त्यसको सम्पूर्ण श्रेय तपाईं हामीलाई गइरहेको छ। त्यसो भएको हुनाले पनि मलाई के लाग्छ भने यत्रो राजनीतिक परिवर्तन, यत्रो राजनीतिक उथलपुथल, हिजोको दिन, आजको दिन हिजोको परिस्थिति, आजको परिस्थिति, यी सम्पूर्ण कुरालाई तुलना गर्ने सकिंदैन।

हामी राजनीतिक प्राणी हौं। राजनीतिक दलमा आबद्ध पनि छौं। राजनीतिक अधिकार प्राप्त गर्नु भनेको चानचुने कुरा छैन। समाजवादको लक्ष्य प्राप्त गर्ने संविधान निर्माण गर्‍यौं। यतिवेला अलिअलि मूल्याङकन, छलफल गरिरहँदाखेरी कताकता मलाई लाग्छ- हाम्रो बाटो बिचलित हुने त होइन? 

राजनीतिक परिवर्तन यो ठाउँसम्म पुर्‍याउन हामी सबैको महत्वपूर्ण योगदान छ। त्यसो भएको हुनाले पनि यसलाई जोगाउनुपर्छ। हामी सबै एकताबद्ध भएर गणतन्त्रलाई जागाउने, संघीयतालाई जोगाउने, समाजवादको लक्ष्य प्राप्त गर्नको लागि हामी सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन। नेपालको सार्वभौमिक अखण्डता, नेपालको गौरव, तपाई हामी सबैको गौरव हो नी। हिजो २०६३/०६३ सालमा लोकतन्त्र नभएको व्यवस्थाको अन्त्य गर्न तपाईं, हामी मिलेकै हो नी।

अब यसलाई सुरक्षित बनाउनको लागि, व्यवस्थित र सुशासन कायम गर्नको लागि राजनीतिक दलहरू एकजुट भएर समृद्ध र सुखी नेपाली बनाउनको लागि तपाई हामी नमिली सुखै छैन। 

अहिलेको परिस्थिति बिथोलिन खोजिराखेको हो की, जटिल बन्न खोजेको हो की, द्वन्द्व सिर्जना हुन खोजिराखेको हो की, कतै लोकतन्त्र कमजोर बन्न खोजिराखेको हो की ,अनेकौं प्रश्न चिह्न जनताको मनमा पनि छन्। तपाई हाम्रो मनमा पनि छ।

म सभामुख महोदय मार्फत संसदको गरिमा बचाउनको लागि संघीय लोकतान्त्रिक गणतन्त्र आवश्यक छ भन्न चाहन्छु। संघीयता आवश्यक छ। हामी एक ठाउँमा रहेर एकजुट भएर लोकतात्रिक संस्कार बनाउँदै अगाडि बढौं भनेर यो भावना व्यक्त गरेको हुँ।

२०३६ सालमा मैंलै परिवार, पढाइ त्यागेर लोकतन्त्रको लागि, परिवर्तनको लागि, निरंकुशता अन्त्यका लागि होमिएको आजै जस्तो लाग्छ। त्यो त्याग खेर गएको छैन। ती दिन, दुःख कष्ट अहिले दन्त्य कथा जस्तो लाग्छ। त्यो मेरो त्याग सुविधा र पदको लागि थिएन। 

तपाईं हामीले धेरै चुनौती र अप्ठ्यारालाई सामना गरेर यहाँसम्म आएका छौं। त्यसैले हामीले यो परिवर्तनलाई सामान्य रुपमा नलिऔं, जनताको हितको लागि समाजवादको लक्ष्यमा पुग्न हामी लडेका हौं। यो परिर्वतन महत्वपूर्ण छ, हलुका हिसाबले लिनुहुँदैन, परिवर्तनलाई आत्मसात् गर्नुपर्छ। जवाफदेही र जनताको हितको लागि प्रयोग गर्नुपर्छ। संसारमा नेपाललाई न्यायपूर्ण मुलुकको रुपमा चिनाउनुपर्छ। 

जहाँसम्म बागमती प्रदेशको कुरा छ, यो प्रदेश आफैंमा विविधता र चुनौती भएको प्रदेश हो। विकास, समृद्धि सुशासनको हिसाबले बागमती प्रदेश अगाडि छ। बागमती प्रदेश नमुना प्रदेश हो। राजस्वको हिसाबले पनि हाम्रो प्रदेश नमुना प्रदेश हो। यहाँ बेरुजु पनि अत्यन्तै न्यून छ। सरकारले गरेको पारदर्शिता, मितव्ययिता जस्ता राम्रो कुरालाई राम्रो भन्ने संस्कार बसाऔं। यो प्रदेशलाई सुशासन प्रदेश, नमुना प्रदेश, समृद्धिको प्रदेशका रुपमा चिनाऔं। साँच्चै नै नमुना प्रदेशको रुपमा चिनाउन सत्तापक्ष र प्रतिपक्षको बीचमा अब परम्परागत ढंगको सोचाइ राखेर हुन्न। प्रतिपक्षले विरोध मात्रै गर्ने, सत्तापक्षले पेलेर मात्रै जाने संस्कार तोड्नुपर्छ, आपसमा सौहर्दता, एकता, एकअर्काको साथ दिने बानीको विकास गर्नुपर्छ। 

राम्रोलाई राम्रो भन्ने, नराम्रोलाई सुधारको लागि सुझाव दिने र सत्ता पक्षले स्वीकार गर्ने गर्नुपर्छ। अनि मात्रै नयाँ पुस्ताले सिक्ने छन्। संस्कारयुक्त बागमती प्रदेश बनाऔं, एकाले अर्कोलाई माया गरौं। अलग भएर हैन, एक भएर प्रदेश बनाऔं, यसलाई अन्यथा नलिऔं। 

अल्पमतकै सरकार भए पनि हामीले धेरै गर्‍यौं। हिजो मात्रै हामीले बागमती प्रदेशलाई महिलामैत्री सरकार बनाउने प्रदेशको रुपमा विकास गर्ने बडापत्र राखेका छौं, प्रतिबद्धता गर्‍यौं। यो सबैले मान्नुपर्ने कुरो हो। हामी सबैले महिलाको लागि वातावरण सहज बनाउनुपर्छ भन्नेमा एकमत हुनुपर्छ।

समाजवादको लक्ष्य भनेको सुशासनयुक्त लक्ष्य हो। यो कस्तो हुनुपर्छ भन्ने अवधारण हामीले नीति योजना आयोगबाट तयार पारेका छौं। यसको लक्ष्य र काम कस्तो हुनुपर्छ भनेर आयोगबाट सार्वजनिक गरेका छौं। त्यसमा केही सुझाव छन् भने त्यसलाई पनि ग्रहण गर्न सकिने छ। 

अन्त्यमा, मलाई थोरै समय भए पनि नेतृत्व गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद। आगामी दिनमा जोसुकै सरकारमा आए पनि राम्रो काममा सबैले सहयोग गरौं भन्न चाहन्छु। आगामी दिनमा हामी प्रतिपक्षमा रहे पनि आफ्नो जिम्मेवारी पूरा गर्ने छौं। प्रदेश बनाउनको लागि मिलेर काम गरौं, जो जुन भूमिका र पदमा भए पनि प्रदेशको हितको लागि हामी एक भएर लागौं। नेकपा एमालेको विचार र भावना पनि यही हो। परिस्थितिलाई सम्मान गर्दै मार्ग प्रशस्त गर्न चाहन्छु।

(शाक्यले १० कात्तिकको प्रदेश सभा बैठकमा गरेको सम्बोधनको पूर्णपाठ)