विनाशकारी डढेलोले अस्ट्रेलियाको एउटा शहर नै सकियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विनाशकारी डढेलोले अस्ट्रेलियाको एउटा शहर नै सकियो



काठमाडौं- लामो समयदेखि अस्ट्रेलियामा फैलिएको ‘विनाशकारी’ डढेलोको कारण एउटा समुदायलाई ठूलो क्षति पुगेकोे छ ।

आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै विस्थापित भएको छ ।

न्यू साउथ वेल्सकी नेतृ ग्ल्याडिज बेरेजिक्लियननका अनुसार सिड्नीको दक्षिण पश्चिममा रहेको बालमोरलका ४ सय नागरिक विस्थापित भएका छन् ।

बढ्दो तापक्रमसँगै अष्ट्रेलियाका थुप्रै राज्यमा अग्निनियन्त्रकलाई आगो निभाउनसमेत कठिन भइरहेको छ ।

बालमोरलका स्थानीय मुश्किलले ज्यान जोगाउन सफल भएका छन् । बालमोरलका स्थानीय नागरिक स्टिभ ह्यारिसन आफूले मुश्किलले ज्यान जोगाएको बताउँछन्, ‘म आफ्नो गाडीतर्फ भागेँ । तर बगैँचामा आगो फैलिसकेको थियो ।

सडकमा पनि आगोको लप्का आइसकेको थियो । मैले आफू उम्किन सक्दिनँ जस्तो लाग्यो ।’

गएको सेप्टेम्बरदेखि अष्ट्रेलियामा फैलिएको विनाशकारी आगलागीका कारण अहिलेसम्म ९ जनाको ज्यान गएको छ ।

त्यस्तै सयौँ घर आगलागीले ध्वस्त भएका छन् भने लाखौँ हेक्टर जमिनमा आगलागीले क्षति पुगेको छ ।

गएको आइतबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुःखद परिस्थितिका बेला आफू बिदा मनाउन गएकोमा माफी मागेका थिए ।