अष्ट्रेलियाले जित्यो टि२० विश्वकप: पहिलो पटक बन्यो च्याम्पियन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अष्ट्रेलियाले जित्यो टि२० विश्वकप: पहिलो पटक बन्यो च्याम्पियन



एजेन्सी – शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले पहिलो पटक आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा बोल्ड आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको तेस्रो बलमा ओपनर आरोन फिन्च ५ रनमा डर्याल मिचेलबाट क्याच आउट भए । दोस्रो विकेटका लागि दोस्रो विकेटका लागि ५९ बलमा ९२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । बोल्टले १३ औं ओभरको दोस्रो बलमा वार्नरलाई बोल्ड आउट गरेका थिए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । ओपनर मार्टिन गुप्टिलले तेस्रो ओभरको तेस्रो बलमा ब्यक्तिगत १० रनमा जीवनदान पाएका थिए । स्पिनर ग्लेन म्याक्सवेलको बलमा इन साइट एज लागेपनि विकेटकिपर म्याथ्यु वेडले क्याच ड्रप गरेका थिए ।

तीव्र गतिका बलर जोश हेजलवुडको चौथो ओभरको पाँचौं बलमा ओपनर डर्याल मिचेल एज लागेर ११ रनमा वेडबाट क्याच आउट भए । पहिलो विकेटका लागि गुप्टिल र मिचेलले २८ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि विलियम्सन र मार्टिन गुप्टिलले ४५ बलमा ४८ रनको साझेदारी गरेका थिए ।

स्पिनर एडम जाम्पाको १२ औं ओभरको पहिलो बलमा गुप्टिल २८ रनमा क्याच आउट भए । ३५ बलमा खेलेका गुप्टिलले ३ चौका प्रहार गरे । विलियम्सनले १६ औं ओभरमा तीव्र गतिका बलर मिचेल स्टार्कलाई ४ चौका र १ छक्का सहित २२ रन प्रहार गरेका थिए । सुरुवाती समय विलियम्सन १९ बलमा १८ रनमा खेलेका थिए । त्यसपछि विलियम्सनले रनको गति बढाएका थिए ।

तेस्रो विकेटका लागि विलियम्सन र ग्लेन फिलिप्सले ३७ बलमा ६८ रनको उत्कृष्ट साझेदारी गरेका थिए । फिलिप्स ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा १८ रनमा क्याच आउट भएका थिए । फिलिप्सले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । जोश हेजलवुडको १८ औं ओभरको पाँचौं बलमा ठूलो सट खेलेका विलियम्सन लङअफमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । जिमी निशमले १३ र टिम सिफर्टले ८ रनमा अविजित रहे ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले १ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ६० रन खर्चेपनि विकेट लिन सकेनन् ।

अष्ट्रेलिया विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने छ । उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्ने भएका छ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले इंग्ल्यान्ड र पाकिस्तानले ४-४ लाख डलर प्राप्त गर्नेछन् । अष्ट्रेलियाले यसअघि दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ । अष्ट्रेलियाले १८८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसिय विश्वकप उपाधि जितेको थियो । २००६ र २००९ को च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो । २०१० मा को टि२० विश्वकप फाइनलमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

अष्ट्रेलिया सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । अष्ट्रेलियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । इंग्ल्यान्डसँग भने अष्ट्रेलिया ८ विकेटले पराजित भएको थियो । श्रीलंकालाई ७ विकेट, बंगलादेश र वेस्टइन्डिजलाई ८–८ विकेटले पराजित गरेको थियो ।