ठेकेदारको चरम लापरबाही: बबर्इ पुल भाँचियो - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

ठेकेदारको चरम लापरबाही: बबर्इ पुल भाँचियो



काठमाडौं :

ठेकेदारको लापरबाहीका कारण बर्दियाको जग्दिघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तारन्तरण नहुँदै भाँचिएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको यो पुल सरकारलाई हस्तान्तरण नहुँदै गत साता भाँचिएको थियो ।

महेन्द्र राजमार्गलाई जोड्ने यो पुल बर्दियाको गुलरियाबाट उत्तरतर्फ बगही घाटमा एक वर्षअघि निर्माण सम्पन्न भए पनि प्राविधिक कमजोरीका कारण सरकारलाई हस्तान्तरण गरिएको थिएन । ठेकेदारले हस्तान्तरण नगरी पुल भाँचिएकाले पुनः उसैले निर्माण गर्नुपर्ने सडक विभागका उपमहानिर्देशक तथा पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । निर्माण कमजोर भएका कारण ठेकेदारले पटकपटक पुल हस्तान्तरण गर्न खोज्दा पनि सडक विभागले नमानेको थापाले जानकारी दिए । उनले भने, ‘यो कम्पनीले समयमै काम नसकेका कारण पटकपटक समय थप भएको थियो । विभागलाई हस्तान्तरण नभए पनि पुल एक वर्षदेखि सञ्चालनमा थियो ।

निर्माण कम्पनीले कमजोर पुल बनाएका कारण करिब दुई करोड रुपैयाँ भुक्तानी रोकिएको छ । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले स्थालगत निरीक्षण गरी पुलको प्राविधिक पक्षको अध्ययन गरेको थियो । केन्द्रले पुलको ग्राभेलमै मसिना ढुंगा र रोडको कम्प्याक्सन नमिलेको, कंक्रिट प्रयोगमा कमजोरी र पिलरको गहिराइ पनि कम भएको निष्कर्ष निकालेको थियो । पुल निर्माण गर्दा परामर्शदाताले दिएको सर्भे रिपोर्ट तथा डिजाइनको पनि पूर्ण पालना गरिएको छैन । पुल नदीको बहाबतर्फ नै फर्काएर बनाउनु पनि प्राविधिक कमजोरी भएको बताइएको छ ।

पुल निर्माता कम्पनी पप्पु कन्स्ट्रक्सनले भने पटकपटक पुल हस्तान्तरण गर्ने र त्यसपछि तोकिएको मर्मत अवधिभित्र पुलमा भएका कामजोरी सञ्चाउने माग गरिरहेको थियो । निर्माता कम्पनीले माटोको कारण गहिराइमा जान नसक्ने भन्दै केही पिलरको जग नै परिवर्तन गर्न खोजेको भए पनि विभागले नमानेको दाबी गरेको छ । पप्पुसँग आइतबार पत्रकारले सम्पर्क गर्ने प्रयास गरेको भए सम्पर्क हुन सकेन ।

चार सय ३५ मिटरको यो पुलमा १६ वटा पिलर र १७ वटा स्पान छन् । हरेक पिलरको दूरी २५ मिटर छ । यो पुलका हरेक पिलरको जग १५ मिटर भास्सिएको छ । दुईवटा पिलरमध्ये एउटा चार मिटर र अर्को करिब २० सेमि दबिएको विभागले जानकारी दिएको छ । पुलका दुईवटै पिलर गाडेको ठाँउमा कडा माटो रहेकाले थोरै मात्रै ड्रिल भएको विभागको अनुमान छ । यो पुल २०६७÷६८ देखि नै निर्माण सुरु भएकामा निर्धारित समयभन्दा एक वर्ष ढिलो गरेर सम्पन्न भएको थियो । पुल पुनर्निर्माणमा करिब दुई करोड रुपैयाँ लाग्ने सडक विभागको अनुमान छ ।

पानीमा बनाइने पाइल फाउन्डेसन (पिलर) मापदण्डअनुसार नभएकाले पनि पुल कमजोर भएको हो । विभागले पुलबारे छनबिन गर्न मध्यपश्चिमाञ्चल सडक निर्देशनालयका क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा गत बिहीबार पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइनेछ ।

यो १६ करोड ६८ लाख रुपैयाँमा निर्माण भएको पक्की पुल हो । पप्पु कन्स्ट्रक्सनले देशैभर करिब चार दर्जनभन्दा बढी ठूला पुल निर्माण गरेको छ । अन्य कम्पनीको तुलनामा कम रकम कबोल गर्ने भएकाले पनि ठेक्का उसैले पाएको हो ।

अन्नपुर्णपोष्टमा खबर छ  ।