कारबाहीमा परेपछि बाबुराम भट्टराईले जारी गरे यस्तो अपील - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कारबाहीमा परेपछि बाबुराम भट्टराईले जारी गरे यस्तो अपील



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले गरेको कारबाही खारेजीको घोषणा गर्दै बाबुराम भट्टराईले पार्टी पुनर्गठनका लागि अपील गरेका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले जसपा अध्यक्ष उपेन्द्र यादवले गरेको कारबाही भ्रत्सना गरेका छन्। वीरगञ्जमा सम्पन्न यादव पक्षको केन्द्रीय समिति बैठकले भट्टराई सहित नौ नेतालाई कारबाही गर्ने निर्णय गरेको थियो।

”उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारीशैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ,” भट्टराईले भनेका छन्, ”हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौं।”

उनले अब पार्टी पुनर्गठनको विकल्प नरहेको जिकिर गरेका छन्। ”यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन,” भट्टराईले भनेका छन्, ”तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका  केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ।”

बाबुरामको प्रेस वक्तव्य:

जसपा, नेपालमा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वैच्छाचारी कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दैगर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्ने तहसम्म पुगेको कुरा सबैलाई ज्ञात नै छ।

केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८-२९ गते सम्पन्न भएको छ । सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको तथ्य सबैसामु छर्लङ्ग छ।

उता उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९-३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वैच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ। हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौं।

यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका  केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ ।

डा. बाबुराम भट्टराई
अध्यक्ष सङ्घीय परिषद्