गृहमन्त्रीबाट बादललाई हटाउने तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गृहमन्त्रीबाट बादललाई हटाउने तयारी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीबाट रामबहादुर थापा बादललाई हटाउने तयारी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीबीच राम्रो सम्बन्ध नभएको हल्ला चलिरहेको बेला प्रधानमन्त्रीले यस्तो तयारी गरेको खुलेको छ ।

संसद विघटन गरेपश्चात ओलीलाई साथ दिने भन्दै प्रचण्डको साथ छाडेका गृहमन्त्री बादल प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट हुँदै गएका छन् । त्यसैमाथि गतहप्ता मात्रै युवासंघको नयाँ नेतृत्वमा ओलीपक्षले आफू निकटलाई पर्गेलेपछि बादल थप रुष्ट बनेका छन् ।

ओली र बादलबीच सम्वन्ध बिग्रिएको भनिएको समयमै नेकपाको बहुमत लिएर ओलीविरुद्ध सडकमा उत्रिएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा रहेका केहि मन्त्रीहरू आफ्नो समुहमा आउन लागेको सार्वजनिक रूपमै बताएपछि प्रधानमन्त्री ओली सशंकित बनेका थिए ।

प्रचण्डले सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेपछि प्रचण्ड समुहमा जान लागेका व्यक्तिहरूको ब्यापक खोजी बालुवाटारबाट भैरहको थियो । बालुवाटारमा खोजी भैरहेका बेला उर्जामन्त्री टोपबहादुर रायमाझीले भने चोरले खुट्टा तान्छ भनेझैँ गरी हठात विज्ञप्ति नै निकालेर प्रचण्डले कुप्रचार गरेको र आफू ओली समूहमै रहेको बताएका थिए ।

युवासंघ गठन गर्दा एकलौटी गरिएको र यसमा आफ्नाहरूले पनि अवसर पाउनुपर्ने माग राख्दा बादलको कुरा प्रधानमन्त्री ओलीले भने सुन्दै सुनेनन् । आफू निकट युवाहरूले पनि थप दवाव सृजना गरेपछि बादल थप संकटमा परेका छन् । उता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्रीबाट दवाव आएको र छुटाउन ओली निकट मानिने पूर्वसभामुख सुवास नेम्वाङले दवाव दिएको बिषयले पनि बादल अन्दलोचनमा परेका छन् ।

संसद विघटनसँगै घोषणा गरिएको चुनावको मिति नजिकिएको अवस्थामा गृहमन्त्रालय र प्रधानमन्त्री कार्यलयसँग तारतम्य नमिलेको प्रधानमन्त्री ओली निकट स्रोतले नै दाबी गरेको छ ।

वामदेवलाई गृहमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री ओलीले बादललाई गृहमन्त्रीबाट हटाउन खोजेको आइतबार बालुवाटारमा भएको एक भेटले पुष्टि गरेको छ । आइतबार प्रधानमन्त्री ओलीको विशेष निमन्त्रणामा बालुवाटार पुगेका पार्टीका उपाध्यक्ष तथा स्वघोषित एकता अभियानका संयोजक वामदेव गौतमलाई चुनावी सरकारको गृहमन्त्री बन्न अफर आयो ।

स्रोतका अनुसार पप्रधानमन्त्री ओलीले वैशाखमा जसरी पनि चुनाव गराउने र अनुभवी गृहमन्त्री खोजेको भन्दै चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न गौतमलाई प्रस्ताव गरे ।

आइतबारको भेटमा ओली र गौतमबीच चुनाव र पार्टीको विषयमा डेढ घण्टा छलफल भएको स्रोतले दाबी गरेको छ । उक्त भेटमा प्रधानमन्त्री ओलीले गृहमन्त्री सम्हाल्न उनलाई निकै जोड गरेका थिए ।

गृहमन्त्रीबाट बादललाई हटाउने भएपछि प्रधानमन्त्रीले गौतमलाई बोलाएर यसबारे छलफल गरेको स्रोतको दाबी छ ।